सिरहा । सिरहा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको अवधिमा लक्ष्यभन्दा बढी राजस्व गरेको छ । सो अवधिमा कार्यालयले ५ करोड ५ लाख ४० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
प्रमुख भन्सार अधिकृत तोयानाथ सापकोटाका अनुसार कार्यालयले पाँच महिनामा ४ करोड ८८ लाख ५२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । कार्यालयले सो अवधिमा वार्षिक लक्ष्यको ४१ दशमलव ६७ प्रतिशत राजस्व संकलन गरेको हो ।
कार्यालयले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको साउन महिनामा ९७ लाख ९५ हजार रुपैयाँ, भदौमा १ करोड सात लाख ७२ हजार रुपैयाँ, असोजमा १ करोड दुई लाख ७६ हजार रुपैयाँ, कात्तिकमा १ करोड चार लाख १७ हजार र मङ्सिरमा ९२ लाख ८० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा २ करोड ७७ लाख ४७ हजार रुपैयाँ राजस्व वृद्धि भएको छ । कार्यालयका अनुसार गत आवको पाँच महिनाको अवधिमा २ करोड ३८ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
चालु आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य १२ करोड १२ लाख ९२ हजार रुपैयाँ रहेको छ । सिरहामा माडरस्थित सिरहा भन्सार, बरियापट्टीस्थित छोटी भन्सार र भगवानपुरस्थित ठाडी भन्सार कार्यालय छन् ।
प्रतिक्रिया दिनुहोस्