एजेन्सी । पानामाका राष्ट्रपति जोसे राउल मुलिनोले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पानामा नहरमा चिनियाँ सैनिकहरू तैनाथ रहेको दाबीलाई अस्वीकार गरेका छन् ।
हालैका दिनमा ट्रम्पले पानामा नहरलाई पुनः अमेरिकी नियन्त्रणमा ल्याउने धम्की दिएका थिए । साथै पानामामाथि उच्च शिपिंग दर लगाएर अमेरिकालाई ठगी गरेको आरोप लगाएका थिए ।
बुधबार आफ्नो ट्रुथ सोसल मिडियामा पोस्ट गरिएको सन्देशमा ट्रम्पले लेखे, “सबैलाई मेरी क्रिसमस, साथै चिनियाँ सैनिकहरूलाई पनि, जो प्रेमपूर्वक तर गैरकानूनी रूपमा पानामा नहरमा काम गरिरहेका छन् ।”
मुलिनोले यस दाबीलाई निरर्थक भन्दै पानामा सिटीमा पत्रकारहरूसँग नहरमा एक जना पनि चिनियाँ सैनिक नभएको बताएका थिए । उनले नहरको नियन्त्रण सुम्पिन वा अमेरिकी जहाजहरूका लागि शुल्क घटाउन सम्भावना अस्वीकार गरे ।
“नहर पानामाबासीको हो र पानामाबासीको स्वामित्वमा छ । यो यथार्थलाई लिएर कुनै पनि प्रकारको वार्ता खोल्ने सम्भावना छैन”, उनले भने ।
ताइवानसँग सम्बन्ध तोडेपछि पानामाले सन् २०१७ मा चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो, र मुलिनोले दुवै देशबीचको सम्बन्धलाई आदरयुक्त, राम्रो व्यवस्थापन गरिएको साथै दुवै देशको हितमा आधारित भएको बताएका छन् ।
उनका टिप्पणी ट्रम्पले फ्लोरिडाका एक सांसदलाई पानामाका लागि आफ्नो राजदूतको रूपमा मनोनयन गर्ने बताएका एक दिनपछि आएका हुन् ।
मियामी–डेड काउन्टीका रिपब्लिकन कमिश्नर केभिन म्यारिनो काब्रेरा ट्रम्पको सन् २०२० अभियानका लागि काम गरेका थिए र यस वर्ष रिपब्लिकन नेशनल कमिटीका लागि फ्लोरिडाका प्रतिनिधि थिए ।
क्रिसमसको दिन आफ्नो ट्रुथ सोशल नेटवर्कमा पोस्ट गर्दै, ट्रम्पले काब्रेरा हाम्रो राष्ट्रको हितलाई पानामामा उत्कृष्ट रूपमा प्रतिनिधित्व गर्ने बताएका थिए ।
आइतबार, ट्रम्पले एक समूह कन्जर्भेटिभ कार्यकर्तालाई पानामाले लिइरहेको शुल्क हास्यास्पद छ, अत्यन्तै अन्यायपूर्ण भएको दाबी गरेका थिए । उनले यदि शिपिंग दरहरू घटाइएन भने हामी पानामा नहरलाई पूर्ण रूपमा, चाँडो र कुनै प्रश्न नगरी फिर्ता गर्ने माग गर्ने बताएका थिए ।
ट्रम्पले पनामा नहर गलत हातमा नपरोस् भन्ने चाहेको बताएका छन् र विशेष रूपमा चीनलाई उल्लेख गरेका छन् । पानामा नहरको प्रयोग गर्नेमा चीन अमेरिकापछिको दोस्रो ठूलो प्रयोगकर्ता हो, र पानामामा उसको ठूलो लगानी पनि छ ।
क्रिसमसको दिन, ट्रम्पले आफ्ना नीतिहरू र मनोनयनको बचाउ गर्दै दर्जनौं सन्देशहरू पोस्ट गरे, र अमेरिका ग्रिनल्याण्ड र क्यानाडालाई आफ्नो क्षेत्रमा गाभ्न प्रस्ताव गरेको कुरा दोहो¥याए ।
कूल ८२ किमी लामो नहरबाट वार्षिक १४ हजार जहाजहरू यात्रा गर्छन्, जसमा कार, प्राकृतिक ग्यास र अन्य सामानहरू तथा सैन्य जहाजहरू सामेल छन् । नहर सन् १९०० को सुरुमा निर्माण गरिएको थियो। अमेरिका नहर क्षेत्रको नियन्त्रण सन् १९७७ सम्म राखेको थियो, जब सन्धिहरूले क्षेत्रलाई क्रमशः पानामालाई हस्तान्तरण गर्न थाल्यो। संयुक्त नियन्त्रणको एक अवधि पछि, पानामाले सन् १९९९ मा एकल नियन्त्रण लिए ।
इतिहासकै सुक्खाका कारण गत वर्ष नहर यातायात शुल्क बढेको छ । हङकङमा आधारित कम्पनी सीके हचिसन होल्डिङ्सले नहरका प्रवेशद्वारमा रहेका दुई बन्दरगाहहरूको व्यवस्थापन गर्छ ।
प्रतिक्रिया दिनुहोस्