Skip to content

बोटसँगै मकै बिक्री भएपछि किसान उत्साहित

झापा । जिल्लाका विभिन्न स्थानमा गाई फार्म सञ्चालक तथा सहकारीले व्यावसायिकरुपमा साइलेस (पौष्टिक तत्व पर्याप्त हुने घाँस)का लागि ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका मकै बोटसँगै खरिद गरेका छन् । यसरी उत्पादित मकै बोटसँगै बिक्री भएपछि किसान उत्साहित भएका हुन् ।

अर्जुनधारा नगरपालिका–७ का सञ्जय खनाल खेतमा लगाएको मकैले बोटसँगै प्रशस्त आम्दानी दिएपछि उत्साहित भएका छन् । एक बिघा जमिनमा लगाएको मकैमा दाना लागेपछि नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले साइलेस बनाउन बोटै खरिद गरेपछि उनी उत्साहित भएका हुन् ।

ग्रामीण क्षेत्रका किसान साइलेसका लागि बोेटबाटै मकै बिक्री भएपछि भाँच्नु, नङ्ग्याउनु, छोडाउनु र सुकाउनुपर्ने झन्झटबाट मुक्त भएका खनालले बताए। उनले यसपाली पोलेर खान मिल्ने भएको दुधिलो मकै प्रतिकेजी साढे चार रुपैयाँका दरले ११ हजार केजी खेतबाट बिक्री गरेको जानकारी दिए।

मकै सुकाएर बेच्दा भने जस्तो मूल्य पनि नपाउने र लागत पनि बढी लाग्ने हुँदा हरियो मकै साइलेसका लागि बोटैसँगै बिक्री गरिएको भन्दै यसबाट बढी फाइदा भएको खनालले सुनाए । उनले अर्को वर्ष मकैखेती विस्तार गर्ने तयारी रहेको बताए ।

एनएमसीले मेचीनगर नगरपालिका–१४ मा अग्र्यानिक तरकारी खेतीसँगै उन्नत जातका गाईफार्मसमेत सञ्चालन गर्दै आएको छ । सहकारीले १८ लाख केजी मकैको साइलेस बनाउनका लागि धमाधम सूचीकृत भएका किसानको खेतबाटै मकै खरिद गरिरहेको नमूना एकीकृत कृषि फामका संयोजक हिरा पोखरेलले जानकारी दिए।

उनले भने, ‘आफ्नै गाई फार्मका लागि १२ लाख केजी र बिक्री गर्नका लागि छ लाख केजी मकैको साइलेस बनाउने तयारी गरिरहेका छौँ ।’ उनले मेचीनगर, भद्रपुर नगरपालिका, झापा गाउँपालिका, अर्जुनधारा, विर्तामोड नगरपालिका र बाह्रदशी गाउँपालिकाका किसानले उत्पादन गरेका मकै खरिद गर्ने गरिएको गरेको बताए ।

साइलेस घाँसमा पौष्टिक तत्व पर्याप्त हुने गरेकाले पशुको स्वास्थ्यमा पनि कुनै खराबी नहुने मेचीनगर–४ का किसान केदार न्यौपानेले बताउनुभयो । साइलेस खान पायो भने गाईभैँसीले दूध पनि राम्रो दिने उनको अनुभव छ । साइलेस एकपटक बनाएर वर्षभरि पशुलाई खुवाउन मिल्ने भएकाले पनि गाई किसान यसतर्फ आकर्षित भएका हुन् ।

जिल्लामा ४४ हजार दुई सय ५० हेक्टर जमिनमा मकैको व्यावसायिक खेती हुँदै आएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi