काठमाडौं । बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)हरूलाई अहिले सबैभन्दा बढी समस्या पारेको विषय खराब कर्जा हो । बिहान हुने कफीको गफदेखि बेलुका हुने मदिराको संवादमा सीईओहरुबीच खराब कर्जा पुस मसान्तमा कति हुन्छ भन्ने चर्चा चल्छ । असोज मसान्तमा तीनवटा वाणिज्य बैङ्कहरूको खराब कर्जा अनुपात ५ प्रतिशतमाथि थियो । केही बाहेक धेरैजसो बैङ्कहरूको ५ प्रतिशत कट्ने बताउँछन् ।
यही विषयमा केही दिन अगाडि बैंकर्स संघमा बैंकका सीईओहरु खराब कर्जा कति पुग्छ भन्ने छलफल भएको थियो । छलफलका अन्य विषय भएपनि खराब कर्जाको विषयमा छलफल थियो । छलफलमा सीईओहरुले साझा निष्कर्ष थियो केही बाहेक सबै बैंकको खराब कर्जा ५ प्रतिशत पुस मसान्तमा कट्छ । चैत मसान्तमा ६ प्रतिशत पुग्ने र असारसम्म ७ प्रतिशत खराब कर्जा अनुपात पुग्नेमा सीईओहरु एकमत देखिए ।
“स्टाण्र्डर्ड चार्टर्ड बाहेक करिब करिब सबैजसो बैंकको खराब कर्जा अनुपात ५ प्रतिशतभन्दा माथि पुस मसान्तमा पुग्छ,”एक बैंकका कार्यकारी अधिकृतले भने,“ब्यालेन्ससिट मिलाएर त्यसलाई कम राख्नभन्दा यतार्थ चित्रण बाहिर ल्याउनुपर्छ।”
बैंकर्स संघमा सीईओहरुबीच पुस मसान्तमा मिलाउने ब्यालेन्ससिटभन्दा पनि वास्तविक नै ल्याउने भन्नेमा छलफल भएको थियो । राष्ट्र बैंकले निर्माण व्यवसायीहरूलाई दिएको सहुलियत निरन्तरता दिएको छैन । जसले गर्दा निर्माण व्यवसायीमा गएको कर्जाले खराब कर्जा थप बढाउने छ । यसबाहेक निर्माण व्यवसायीलाई ऋण तिर्न राष्ट्र बैंकले दिएको सहुलियतले सक्ने व्यवसायीले समेत ऋण नतिर्ने प्रवृत्ति देखिएको बैंकरहरु बताउँछन् ।
“सक्ने व्यवसायीले पनि सहुलियत पाएको हुँदा नियमित किस्ता र ब्याज तिर्ने काम गरेनन्,”एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने,“अब यसरी सहुलियत दिएर ऋणलाई पर सार्ने भन्दा बिग्रेको ब्यालेन्ससिट बाहिर ल्याउनु नै प्रणालीको लागि राम्रो हुन्छ।”
असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार बैङ्कहरूको औसत खराब कर्जा अनुपात ४.२८ प्रतिशत छ । बैंकरहरुका अनुसार वास्तविक रूपमा ब्यालेन्ससिट देखाएमा खराब कर्जा अनुपात नै अहिले नै औसतमा करिब १० प्रतिशतभन्दा माथि रहेको बताउँछन् । पछिल्लो समय राष्ट्र बैंकले पनि कतिपय लोन फाइलमा खराब कर्जा नबढाउनको लागि मिलाउने सुविधा दिएको बैंकरहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्