काठमाडौं। ऊर्जा मन्त्रालयले सन् २०३५ सम्म विद्युत जडित क्षमता २८ हजार ५ सय मेगावाट पुर्याउने लक्ष्यसहित बिहीबार ऊर्जा विकास मार्गचित्र सार्वजनिक गरेको हो। हाल विद्युत जडित क्षमता ३ हजार २ सय मेगावाट छ। मार्गचित्रमा २६ हजार मेगावाट विद्युत उत्पादनका लागि ५० अर्ब अमेरिकी डलर चाहिने अनुमान गरिएको छ।
त्यसमध्ये ३ हजार ७ सय मेगावाटका आयोजनामा भारतीय लगानीकर्ताले ७.७ अर्ब अमेरिकी डलर लगानी गर्ने र बाँकी २२ हजार ३ सय मेगावाट बिजुली उत्पादनका लागि सरकार, निजी क्षेत्र, विद्युत प्राधिकरण र अन्य निकायबाट ४२।३ अर्ब डलर लगानी गर्ने भनिएको छ। ४२.३ अर्ब डलरमध्ये २ अर्ब ६० करोड डलर लगानीका लागि वित्तीय व्यवस्थापन भइसकेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले नदी प्रवाहीमा आधारित आयोजनामा प्रति मेगावाट १६ लाख, अर्धजलाशययुक्त आयोजनामा प्रति मेगावाट १८ लाख र जलाशययुक्त आयोजनामा प्रति मेगावाट २७ लाख डलर लाग्ने अनुमानका आधारमा ५० अर्ब डलरको हिसाब निकालेको हो।
१० वर्षमा १५ हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य छ। भारतमा १० हजार र बंगलादेश र चीनमा ५ हजार मेगावाट विद्युत निर्यात गर्ने मार्गचित्रमा उल्लेख छ। नदी प्रवाहीमा आधारित आयोजना ४ वर्ष, अर्धजलाशययुक्त आयोजना ६ वर्ष र जलाशययुक्त आयोजना ७ वर्षमा बनाउने भनिएको छ।
विद्युत उत्पादनसँगै प्रसारणलाइन पनि आवश्यक पर्ने छ। ११ हजार ७ सय किलोमिटर प्रसारण लाइन र ३३ हजार एमभीए क्षमताको सबस्टेसन निर्माण गर्नुपर्ने भन्दै मन्त्रालयले त्यसका लागि ७ अर्ब ४० करोड डलर खर्च हुने अनुमान गरेको छ। त्यसमध्ये १ अर्ब ८ करोड डलर लगानीको व्यवस्थापन भइसकेको मन्त्रालयले बताएको छ।
यसबाहेक वितरण प्रणालीमा सुधार गर्नुपर्ने छ। त्यसका लागि डेढ अर्ब डलर लाग्ने र त्यसमध्ये १ अर्ब २० करोड डलर जुटाउन बाँकी रहेको मार्गचित्रमा उल्लेख छ। विद्युत उत्पादन, प्रसारण लाइन निर्माण र वितरण प्रणालीमा सुधारका लागि ४६.५ अर्ब डलर जुटाउनुपर्नेमा १८ अर्ब डलर आन्तरिक स्रोतबाट व्यववस्थापन गर्न सकिने मन्त्रालयको दाबी छ।
६ अर्ब डलर सरकार तथा १० अर्ब डलर निजी क्षेत्र र बैंक तथा वित्तीय संस्था जुटाउने योजना छ। मार्गचित्रमा ८ अर्ब डलर विद्युत प्राधिकरणबाट हुने रिफाइनान्सिङबाट जुट्ने भनिएको छ। गैरआवासीय नेपाली र वैदेशिक रोजगारीमा रहेका युवाबाट १२ अर्ब, वैदेशिक लगानी, अनुदान र ऋणबाट ८.५ अर्ब डलर तथा जलवायु वित्तबाट २ अर्ब डलर सुनिश्चित गर्न सकिने मन्त्रालयको बुझाइ छ।
प्रतिक्रिया दिनुहोस्