Skip to content
Prabhu

पहिलोपटक नेपाली होटलले लियो विदेशी होटलको व्यवस्थापन, अन्तर्राष्ट्रिय व्यवस्थापनको जिम्मा लिने सोल्टी नेपालको पहिलो

nabil

काठमाडौं । नेपाको पाँचतारे होटलमध्येको एक सोल्टी होटलले आफ्नो सेवा युरोपमा समेत विस्तार गरेको छ । होटलले युरोपको जर्मनीमा रहेका दुईवटा होटलको व्यवस्थापकीय जिम्मेवारी लिएर आफ्नो सेवा अन्तर्राष्ट्रिय बजारमा विस्तार गरेको हो । होटलले यही पुस १७ गते (जनावरी १,२०२५) देखि जर्मनिमा रहेका दुइटा होटलको व्यवस्थापकीय जिम्मेवारी लिएको हो ।

सोल्टी होटल्स एन्ड रिसोर्टसले जर्मनीको फ्रैंकफर्टस्थित दुई होटलको व्यवस्थापन जिम्मेवारी लिँदै अन्तर्राष्ट्रिय यात्रा सुरु गरेको छ । म्यारियट, हिल्टन, सिन्तामणि र हायातलगायतका विदेशी ब्रान्डका दर्जनौं चेन होटलले नेपालमा आतिथ्य सेवा प्रवाह गरिरहेको परिवेशमा नेपाली ब्रान्डको होटल युरोप पुगेको हो ।

सोल्टीले विदेशका होटल व्यवस्थापनमा हात हालेसँगै नेपालको पहिलो अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्ड बनेको सोल्टीका उपाध्यक्ष सुदर्शन चापागाईंले बताए । उनका अनुसार सोल्टीले जर्मनीको ट्रिप इन होटल समूहका दुईवटा होटलको व्यवस्थापन हेर्ने जिम्मेवारी लिएको छ । ट्रिप इनले युरोपका विभिन्न सहरमा ३२ सय कोठा रहेको ५० भन्दा बढी होटल सञ्चालन गरेको छ।

पुस १७ गतेदेखि सोल्टीले जर्मनीमा एउटा होटलको व्यवस्थापन गर्न सुरु गरिसकेको छ, जसको ‘सोल्टी वेस्टेन्ड मेसी फ्रैंकफर्ट’ नामबाट रि–ब्रान्डिङ गरिएको छ । फ्रैंकफर्टमै अर्को ‘सोल्टी वेस्टेन्ड प्रिमियर मेसी फ्रैंकफर्ट’ होटलको व्यवस्थापन तथा सञ्चालन १७ फागुनदेखि गर्ने सम्झौता छ ।

‘सोल्टीले आफ्नो ६ दशकभन्दा लामो विरासत अन्तर्राष्ट्रिय स्तरमा विस्तार गरेको छ । अब नेपाली आतिथ्य सत्कार युरोपकै जीवन्त र गतिशील सहरहरूमध्येको एक फ्रैंकफर्ट पुगेको छ । यसले अन्तर्राष्ट्रिय स्तरमा नेपाली आतिथ्य अनुभव प्रदान गर्नका लागि सोल्टी ब्रान्डको प्रतिबद्धता तथा दृढतालाई समेत प्रतिबिम्बित गर्दछ,’ उपाध्यक्ष चापागाईंले भने।

नेपाली आतिथ्य सेवा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउन तीन आतिथ्य कम्पनीहरू ट्रिप इन मेनेजमेन्ट एन्ड सर्भिस लिमिटेड, ट्रिप इन रिसेन लिमिटेड र सोल्टी होटलको एसोसियट कम्पनी स्ट्रिम पिक इन्टरनेसनल प्रालिबीच सहकार्य भएको छ । स्ट्रिम पिक इन्टरनेसनल सोल्टीको म्यानेजमेन्ट हेर्ने कम्पनी हो । यो सहकार्य सोल्टी ब्रान्ड सुदृढ गर्दै अन्तर्राष्ट्रियस्तरमा होटेल व्यवस्थापन गर्ने पहिलो प्रयास हो ।

फ्रैंकफर्टमा गैलसवर्ट एस–वान रेलवे स्टेसननजिकै अवस्थित दुवै होटेलबाट फ्रैंकफर्ट व्यापार मेला सेन्टर र मुख्य ट्रेन स्टेसनसहित सहरका प्रमुख व्यावसायिक केन्द्रहरूसम्म सहजै पुग्न सकिन्छ । दुवै होटल व्यावसायिक, यात्री अतिथि र पर्यटकका लागि आदर्श विकल्प हुने स्ट्रिम पिक इन्टरनेसनलको विश्वास छ ।

‘सोल्टी वेस्टेन्ड मेसी फ्रैंकफर्ट’मा अतिथिलाई आरामदायक, सुविधासम्पन्न र रमणीय वातावरण प्रदान गर्ने ५० कोठा छन् । यस्तै, ‘सोल्टी वेस्टेन्ड प्रिमियर मेसी फ्रैंकफर्ट’मा सुविधासम्पन्न अत्याधुनिक २३६ कोठा छन्, जसमा परिष्कृत सौन्दर्यताको साथै आधुनिक सेवासुविधाको उपयुक्त संयोजन पनि छ,’ सोल्टीले विज्ञप्तिमा भनेको छ ।

सन् १९६६ मा पहिलोपटक ‘द सोल्टी काठमाडौं’ सञ्चालनमा आएको थियो । ६ दशकअघि काठमाडौंबाट सुरु सोल्टीको आतिथ्य सत्कार नेपालभित्र नगरकोट, इटहरी, जनकपुर, चितवन, रूपन्देही र नेपालगन्जमा यसअघि नै पुगेको छ । सोल्टीकै व्यवस्थापनमा मनकामनालगायत ठाउँमा रिसोर्ट सञ्चालनमा आउँदै छन् । पोखरामा पनि सोल्टीले आफ्नै पूर्वाधारसहित लक्जरी रिसोर्ट सञ्चालनको तयारी गरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal