बीबीसी हिन्दी । भारतमा यतिबेला कर्मचारीहरुले कति घण्टा काम गर्नुपर्छ भन्ने बहस सुरु भएको छ । लार्सन एन्ड टूब्रोका अध्यक्ष एसएन सुब्रह्मण्यनले कर्मचारीहरूले हप्तामा ९० घण्टा काम गर्नुपर्ने र मानिसहरूले आइतबार पनि काम गर्नुपर्ने धारणा व्यक्त गरेपछि उक्त बहस सुरु भएको हो । उनको यस अभिव्यक्तिपछि धेरैजसो चर्चित व्यक्तिहरूले प्रतिक्रिया जनाएका छन् । र, पुनः यो बहस सुरु भएको छ कि कर्मचारीहरूले हप्तामा कति घण्टा काम गर्नु उपयुक्त हुन्छ ?
भारतकी प्रसिद्ध अभिनेत्री दीपिका पादुकोणले यस विषयमा आफ्नो इन्स्टाग्राम स्टोरीमा लेख्दै भनिन्, “कम्पनीका शीर्ष पदमा रहेका व्यक्तिहरूबाट यस प्रकारका अभिव्यक्ति आउनु आश्चर्यजनक छ ।” उनले उक्त स्टोरीमा मेन्टलहेल्थम्याटर्स भन्ने ह्यासट्याग पनि प्रयोग गरेकी छिन्, जसले मानसिक स्वास्थ्यको महत्त्वलाई देखाउँछ ।
यसअघि, इन्फोसिसका संस्थापक नारायण मूर्तिले पनि हप्तामा ७० घण्टा काम गर्नुपर्ने सुझाव दिएका थिए । एसएन सुब्रह्मण्यनले हालै कम्पनीका कर्मचारीसँगको छलफलका क्रममा यो कुरा बताएका हुन् । उनको भिडियोको एउटा भाग रेडिटमा पोस्ट गरिएको छ ।
\
भिडियोमा सुब्रह्मण्यनले भनेका छन्, “हप्तामा ९० घण्टा काम गर्नुपर्छ । मलाई यो कुरा दुःख लाग्छ कि म तपाईंहरूलाई आइतबार काम गर्न लगाउन सक्दिन । यदि म त्यसो गर्न सक्थें भने मलाई अझ खुशी लाग्थ्यो, किनभने म आफैं आइतबार काम गर्छु । तपाईं घरमा बसेर के गर्नुहुन्छ ?” सुब्रह्मण्यनले थपे, “तपाईं घरमा बसेर कति समयसम्म आफ्नो पत्नीको अनुहार हेर्न सक्नुहुन्छ ?”
उनको यस अभिव्यक्तिले कामका घण्टा, आरामको आवश्यकता, र व्यक्तिगत जीवनलाई लिएर ठूला बहस निम्त्याएको छ ।
शादी डट कमका संस्थापक अनुपम मित्तलले यस विषयमा सामाजिक सञ्जाल एक्समा कटाक्ष गर्दै लेखेका छन्, “तर सर, पति–पत्नीले एक–अर्कालाई नहेर्ने हो भने हामी संसारको सबैभन्दा ठूलो जनसंख्या भएको देश कसरी बन्ने ?”
कसले के भने ?
महिन्द्रा ग्रुपका अध्यक्ष आनन्द महिन्द्राले भने, “मेरो विचारमा, हामीले कति समय काम ग¥यौं भन्ने कुरामा भन्दा पनि कामको गुणस्तरमा ध्यान दिनुपर्छ । यो कुरा ४० घण्टा, ७० घण्टा वा ९० घण्टा काम गर्ने विषय होइन । तपाईंले के गर्दै हुनुहुन्छ भन्ने महत्त्वपूर्ण हो । तपाईं १० घण्टा काम गरेर पनि संसार परिवर्तन गर्न सक्नुहुन्छ ।”
उनले थपे, “म यो भन्न चाहन्छु कि म सामाजिक सञ्जाल एक्समा यस कारण छु कि म एक्लो छैन । मेरी पत्नी अद्भुत छिन्, र म उनलाई हेर्न मन पराउँछु तथा उनको साथमा समय बिताउन पनि ।”
सीरम इन्स्टिच्युटका सीईओ अदार पुनावालाले पनि एसएन सुब्रह्मण्यनको अभिव्यक्तिमाथि कटाक्ष गरेका छन् । उनले भनेका छन्, “हो, आनन्द महिन्द्राजी, मेरी पत्नी पनि मान्छिन् कि म राम्रो छु । उनलाई आइतबार मलाई हेर्न मनपर्छ । कामको गुणस्तर महत्त्वपूर्ण हो, कामको घण्टा होइन ।”
उद्योगपति हर्ष गोयनकाले पनि आनन्द महिन्द्राको कुरालाई समर्थन गर्दै आफ्नो सामाजिक सञ्जालमा सेयर गरे । उनले लेखे, “हप्तामा ९० घण्टा काम ? आइतबारको नाम परिवर्तन गरेर सन–ड्युटी गरौँ या छुट्टीको दिनको धारणालाई मिथक घोषणा गरौँ ? मलाई लाग्छ, कडा मिहिनेत र स्मार्ट तरिकाले काम गर्नुपर्छ, तर के जीवनलाई लगातार अफिस शिफ्टमा बदल्न उचित हो ? मलाई लाग्छ, यो थकान बढाउने तरिका हो, सफलता प्राप्त गर्ने होइन ।”
कानुनी पक्ष
भारतमा कारखाना, पसल र व्यवसायिक प्रतिष्ठानहरूजस्ता ठाउँहरूमा काम गर्नेहरूका लागि काम गर्ने घण्टा तोकिएको छ । यससँग सम्बन्धित श्रम र रोजगार मन्त्रालयका स्ट्यान्डिङ अर्डरहरू पनि छन्, जसले कर्मचारीहरूको अधिकार र काम गर्ने समयलाई नियमन गर्दछ ।
यो विषयले काम र व्यक्तिगत जीवनको सन्तुलन, मानसिक स्वास्थ्य, र दक्षताको विषयमा गहिरो बहसको सिर्जना गरेको छ ।
के भन्छन् मानिसहरू ?
यस विषयमा बीसीसीले मानिसहरूबाट राय माग्दा फरक–फरक प्रतिक्रिया प्राप्त भएको छ । कसैले भनेका छन् कि कामका लागि ६ घण्टा पर्याप्त हुन्छ, भने अरुले कामका लागि ८ देखि ९ घण्टा उपयुक्त भएको बताउँदैछन् ।
दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थानको कम्युनिटी मेडिसिन विभागका डाक्टर सञ्जय राय बीबीसीसँगको कुराकानीमा भन्छन्, “हप्तामा काम गर्नका लागि ४८ घण्टा राखिएको छ भने यसको पछाडि कारण पनि छ ।”
यदि तपाईं कम्पनीको मालिक हुनुहुन्छ भने तपाईं कुनै दबाबमा काम गर्नुहुन्न, तपाईं मालिकको अधिकारसँग आफ्नो काम गर्नुहुन्छ । तर, अन्य मानिसहरूले अफिसमा दबाबको बीचमा काम गरिरहेका हुन्छन् वा आफ्नो जोश र जाँगरका साथ काम गरिरहेका हुन्छन्, यो कुराले पनि धेरै फरक पार्ने उनको बुझाइ छ ।
उनी भन्छन्, “धेरै शारीरिक मेहनत लाग्ने काम वा खेलकुद गतिविधिमा मानिस छिटो थाक्छ, र सामान्यतः पुरुषहरूको तुलनामा महिलाहरूलाई मेहनत लाग्ने काममा छिटो थकावट महसुस हुन्छ ।”
पुणेको डी वाई पाटिल मेडिकल कलेजका एमेरिटस प्राध्यापक डाक्टर अमिताभ बनर्जी भन्छन्, “हाम्रो देशमा जनसंख्या ठूलो छ, त्यसैले तपाईं यस प्रकारको कुरा गर्न सक्नुहुन्छ । अन्य देशहरूमा त तपाईंलाई मानिसहरू नै भेटिँदैनन् ।”
मुख्य कुरा भनेको कामको परिभाषा के हो ? एउटा हुन्छ शारीरिक काम जसमा तपाईं आठ घण्टासम्म काम गर्नुहुन्छ । तपाईं धेरै काम गर्नुहुने हो भने थाकेसँगै काम गर्ने क्रममा दुर्घटनाहरू बढ्नेछन् । चाहे त्यो कारखानामा होस्, गाडी चलाउने काम होस् वा लेखासम्बन्धी काम होस्। हरेक काममा दुर्घटना हुनसक्ने उनको भनाइ थियो ।
डाक्टर अमिताभ बनर्जीको भनाइ छ, “रचनात्मक व्यक्तिहरू २४ घण्टा काम गर्न सक्छन् । तपाईंले काम नगर्दा पनि तपाईंको दिमागले रचनात्मक काम गरिरहेको हुन्छ र तपाईंलाई नयाँ विचार आउँछ । यस्तो व्यक्तिले सपना देख्दा पनि काम गर्न सक्छन् ।
आर्किमिडिजले नुहाउँदै गर्दा साबुनलाई टबमा खस्न देखेपछि ‘युरेका… युरेका !’ चिच्याउँदै आफ्नो सिद्धान्त प्रस्तुत गरे। न्युटनको बारेमा भनिन्छ कि उनले रूखबाट फल झर्दा देखेर गुरुत्वाकर्षणको सिद्धान्त प्रस्तुत गरे ।
मानिसहरू प्रायः काम र जीवनको सन्तुलन (वर्क–लाइफ ब्यालेन्स) को पनि कुरा गर्छन्। धेरै कामका कारण मानिसहरू शारीरिक र मानसिक रोगहरूको सिकारसमेत हुने गर्छन् ।
यसलाई बुझ्नका लागि हामीले दिल्लीको बीएल कपूर म्याक्स अस्पतालका न्यूरोलोजिस्ट डाक्टर प्रतीक किशोरसँग कुरा ग¥यौं । उनी भन्छन्, “धेरै काम वा मेहनत गर्दा तपाईंको निद्रामा असर पर्छ । शरीरलाई आराम मिल्दैन भने तपाईंको हार्मोनहरू लगातार सक्रिय रहन्छन्, जसले तनाव हार्मोन बढाउँछ। यसले रक्तनलीलाई कडा बनाउँछ, तपाईंको रक्तचाप (बीपी) बढ्न सक्छ, मोटोपन, चिनी, कोलेस्टेरोल बढ्ने सम्भावना हुन्छ । हृदयघात र मस्तिष्कघातको सम्भावना पनि बढ्छ ।
हाम्रो शरीरलाई एक निश्चित परिमाणमा काम गर्नुपर्छ र त्यसैगरी आराम पनि गर्नुपर्छ। यो रोगसँग लड्ने हाम्रो क्षमतालाई पनि असर गर्छ । उनी भन्छन्, “आराम गर्दा शरीरका महत्त्वपूर्ण अंगहरूको रिकभरी पनि हुन्छ । यस हिसाबले एक दिनमा अधिकतम आठ घण्टा काम गर्न सकिन्छ, तर हामी घरमा आएर पनि काम गरिरहेका हुन्छौं। यसले १० घण्टासम्म पुग्न सक्छ ।” जब केही उपाय काम लाग्दैन, तब कडा मेहनत काम लाग्छ ।
एम्सका पूर्वडाक्टर र सेन्टर फर साइटका संस्थापक डाक्टर महिपाल सचदेव यस बहसमा अलिक फरक धारणा राख्छन् । बीबीसीसँगको कुराकानीमा उनले भने, “प्रत्येक देशमा काम र विकासको एउटा समय सीमा हुन्छ । जस्तै जापानका मानिसहरूले परमाणु हमलापछि कडा मेहनत गरेर धेरै काम गरे । यदि तपाईं अघि बढ्न चाहनुहुन्छ र तपाईंसँग कामप्रतिको जुनून छ भने तपाईं धेरै काम गर्नुहुनेछ । तर यसको लागि तपाईंलाई काम पनि हुनु आवश्यक छ ।”
मानिसहरूले गुणस्तर (क्वालिटी) र परिमाण (क्वान्टिटी) को कुरा गर्छन् । यदि काम नै पूजा हो भने मेरो विचारमा यी दुवै कुरा किन सँगै हुन सक्दैनन् ? तर तपाईं निरन्तर काम गर्न सक्नुहुन्न । यस प्रकारको काम गर्ने क्रममा तपाईंलाई आरामको आवश्यकता पर्छ ।
डाक्टर सचदेव भन्छन् कि यदि कुनै डाक्टरसँग ५० जना बिरामीहरू छन् भने, उसले ती सबैलाई हेर्नुपर्छ वा हेर्न अस्वीकार गर्नुपर्छ । यो दुईमध्ये एकमात्र निर्णय गर्न सक्छ ।
उनी थप्छन्, “काम गर्दा तनाव उत्पन्न हुन्छ भन्ने कुरा सही हो। म आँखा विशेषज्ञ भएको नाताले भन्छु कि यसले आँखामा चाप, टाउको दुख्ने, आँखा रातो हुने जस्ता समस्या पनि निम्त्याउन सक्छ । तर, कोही कति काम गर्न सक्छ भन्ने कुरा प्रत्येक व्यक्तिका लागि फरक–फरक हुन्छ । किनभने यसले हेर्नुपर्छ कि कुनै व्यक्तिको शरीरले उसलाई कति काम गर्न अनुमति दिन्छ ।”
प्रतिक्रिया दिनुहोस्