Skip to content

सन् २०२४ सबैभन्दा गर्मी भएको वर्ष, के हुनसक्छ प्रभाव ?

nabil bank
एजेन्सी । नयाँ तथ्यले पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियसभन्दा बढी देखिएको छ । जब कि विश्व नेताहरूले एक दशकअघि यसलाई रोक्ने प्रतिज्ञा गरेका थिए ।
युरोपियन कोपरनिकस क्लाइमेट सर्भिसले शुक्रबार यो जानकारी दिएको हो । ग्लोबल डेटा उपलब्ध गराउने प्रमुख सेवामध्ये एक यस संस्थाले २०२४ पहिलो क्यालेन्डर वर्ष भएको जनाएको छ, जसले यो सीमा पार ग¥यो । यो रेकर्डअनुसार विश्वकै सबैभन्दा गर्मी भएको वर्ष हो ।
यो पहिलो पटक हो जब औसत वैश्विक तापक्रम पूरै क्यालेन्डर वर्षमा १८५०–१९०० (औद्योगिकीकरणपूर्वको समय)को औसतभन्दा १.६ डिग्री सेल्सियस बढी रहेको छ ।
यसको मतलब यो होइन कि १.५ डिग्री सेल्सियसको लक्ष्य तोडिएको छ । तर, हामी त्यस नजिक पुगेका छौं भन्ने स्पष्ट हुन्छ, किनकि जीवाश्म इन्धनको उत्सर्जनले वातावरण गर्मी बढाइरहेको छ ।
गत साता मात्र संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले हालैको तापक्रम रेकर्डलाई ‘जलवायु पतन’ को रूपमा व्याख्या गरेका थिए । उनले नयाँ वर्षको सन्देशमा सबै देशलाई पृथ्वी तातो बनाउने ग्यासहरूको उत्सर्जन कम गर्न अपिल गरेका थिए । उनले भनेका थिए, “हामीले यस विनाशको बाटोबाट बाहिर निस्कनु पर्छ । हामीसँग गुमाउन समय छैन ।”
तथ्यांक के भन्छ ?
युरोपियन कोपरनिकस क्लाइमेट सर्भिसका अनुसार, सन् २०२४ मा विश्वव्यापी औसत तापक्रम पूर्वऔद्योगिक कालको तुलनामा लगभग १.६ डिग्री सेल्सियस बढी थियो । यो त्यही समय हो, जब मानिसले पेट्रोल, डिजेल र कोइला जस्ता जीवाश्म इन्धनको ठूलो मात्रामा प्रयोग गर्न थालेका थिए ।  यो २०२३ को रेकर्डभन्दा मात्र ०.१ डिग्री सेल्सियस बढी हो । यसको मतलब पछिल्लो दस वर्ष रेकर्डको सबैभन्दा गर्म वर्षहरू भएका छन् ।
मौसम कार्यालय, नासा र अन्य जलवायु समूहहरूले पनि शुक्रबार आफ्ना तथ्यांक सार्वजनिक गर्नेछन् । उनीहरू सबै यसमा सहमत हुने अपेक्षा गरिएको छ कि २०२४ रेकर्डअनुसार सबैभन्दा गर्मी भएको वर्ष हो । यद्यपि, ठ्याक्कै तथ्यांकमा केही अन्तर हुन सक्छ ।
गत वर्षको गर्मी मानिसहरूले कार्बन डाइअक्साइडजस्ता पृथ्वी तातो बनाउने ग्यासहरूको उत्सर्जनका कारण भएको थियो, जुन अझै पनि रेकर्ड उच्चतामा छ ।
विशेषज्ञहरू के भन्छन् ?  
युरोपियन कोपरनिकस क्लाइमेट सर्भिसकी डेपुटी डाइरेक्टर सामन्था बर्गेसका अनुसार हाम्रो जलवायुलाई प्रभाव पार्ने कारकमध्ये सबैभन्दा ठूलो योगदान वायुमण्डलमा ग्रीनहाउस ग्यासहरूको सघनता हो ।
सन् २०१५ मा पेरिसमा सम्पन्न जलवायु सम्झौतापछि १.५ डिग्री सेल्सियसको यो तथ्यांक जलवायु परिवर्तनसम्बन्धी छलफलको प्रमुख हिस्सा बनेको छ । कमजोर देशहरूले यसलाई आफ्नो अस्तित्वसँग जोडिएको मुद्दा मानेका छन् ।
सन् २०१८ मा प्रकाशित संयुक्त राष्ट्रसंघको ऐतिहासिक प्रतिवेदनका अनुसार, जलवायु परिवर्तनले ल्याउने खतरामा चर्को गर्मीका लहर, समुद्रको सतहमा वृद्धि, र वन्यजीवनमा क्षति जस्ता समस्याहरू पर्छन् ।
माइल्स एलन, जो उक्त प्रतिवेदनका लेखक हुन् र अक्सफोर्ड विश्वविद्यालयको भौतिकशास्त्र विभागका विशेषज्ञ हुन् । उनी भन्छन्, “ १.५ डिग्री सेल्सियसको सीमा कहिले तोडिन्छ भनेर भविष्यवाणी गर्नु गाह्रो छ । तर, हामी यसका निकै नजिक पुगेका छौं भन्ने स्पष्ट छ ।”
वर्तमान संकेतले देखाउँछ कि सन् २०३० को दशकको सुरुवातसम्ममा विश्व तापक्रम दीर्घकालीन १.५ डिग्री सेल्सियसको सीमालाई पार गर्नेछ । यो राजनीतिक रूपमा त महत्त्वपूर्ण हुनेछ, तर यसको अर्थ यो होइन कि जलवायु परिवर्तनविरुद्धका कदमहरूको अन्त्य हुनेछ।
अमेरिकास्थित एक अनुसन्धान संस्था बर्कले अर्थका जलवायु वैज्ञानिक जेक होसफादर भन्छन्, “१.४९ डिग्री सेल्सियस ठीक छ र १.५१ डिग्री सेल्सियसबाट संसारको अन्त्य हुन्छ भन्ने होइन । तापक्रमको प्रत्येक दशमलव महत्त्वपूर्ण छ । र जति धेरै तापक्रम बढ्छ, जलवायु प्रभाव त्यति नै खराब हुँदै जान्छ ।”
वास्तवमा, ग्लोबल वर्मिङका एक डिग्रीका साना अंशले पनि लगातार र तीव्र कठोर मौसम ल्याउन सक्छ । जस्तै, चर्को गर्मीका लहर र भारी वर्षा । सन् २०२४ मा, संसारले पश्चिम अफ्रिकामा चर्को तापक्रम, दक्षिणी अमेरिकाका केही भागमा लामो खडेरी, मध्य युरोपमा भारी वर्षा, र उत्तर अमेरिका तथा दक्षिण एशियामा उष्णकटिबन्धीय आँधीको सामना ग¥यो।
आखिर यस्तो किन भयो ? 
वल्र्ड वेदर एट्रिब्युसन ग्रुपका अनुसार, यी घटनाहरू गत वर्ष जलवायु परिवर्तनका कारण अझै तीव्र भएका थिए । यस हप्ता नयाँ तथ्यांकहरू सार्वजनिक हुँदा, लस एन्जलस तीव्र गतिको हावा र वर्षाको अभावका कारण विनाशकारी जंगलका आगोले घेरिएको छ ।
विशेषज्ञहरूको भनाइमा, तातो बन्दै गएको विश्वले क्यालिफोर्नियामा आगलागीका अनुकूल अवस्थाहरू सिर्जना गर्दै गएको छ । तर, यो केवल हावाको तापक्रम मात्र होइन, जसले सन् २०२४ मा नयाँ निशान छोडेको छ । विश्वभर समुद्री सतहको तापक्रम पनि नयाँ उचाइमा पुगेको छ, र वायुमण्डलमा आद्र्रताको मात्रा पनि रेकर्ड तहमा पुगेको छ ।
यो कुनै आश्चर्यको कुरा होइन कि विश्व नयाँ रेकर्डहरू तोडिरहेको छ । सन् २०२४ को गर्मीको अपेक्षा पहिले नै गरिएको थियो । यसको कारण अल नीनो प्रभाव हो, जुन गत वर्ष अप्रिलतिर समाप्त भएको थियो। यो मानवद्वारा बढिरहेको तापक्रमभन्दा माथि थपिएको प्रभाव हो ।
हालका वर्षहरूमा धेरै रेकर्डको अन्तर अपेक्षाभन्दा कम रहँदै आएको छ । तर, केही वैज्ञानिकहरूले यसले तापक्रम वृद्धिमा तीव्रता ल्याउन सक्ने डर व्यक्त गरेका छन् ।
डा जेक होसफादर भन्छन्, “मलाई लाग्छ, यो भन्न उचित छ कि सन् २०२३ र २०२४ दुबैका तापक्रमले धेरै जलवायु वैज्ञानिकहरूलाई चकित पारेका छन् । हामीले कहिल्यै सोचेकै थिएनौं कि हामी यति छिटो १.५ डिग्री सेल्सियसभन्दा माथि तापक्रम देख्न सक्छौं ।”
जर्मनीको अल्फ्रेड वेगेनर इन्स्टिच्युटका जलवायु भौतिकशास्त्री हेल्गे गोसलिंग पनि यससँग सहमत छन् । उनी भन्छन्, “सन् २०२३ बाट हामीसँग करिब ०.२ डिग्री सेल्सियस थप तापक्रम छ, जसलाई हामी पूर्ण रूपमा बुझ्न सकेका छैनौं । वास्तवमा, यो जलवायु परिवर्तन र अल नीनो प्रभावबाट हाम्रो अपेक्षाभन्दा बाहिरको कुरा हो ।”
अब के विकल्प छन् ? 
यो अनिश्चितताका बाबजुद, वैज्ञानिकहरूले जोड दिएका छन् कि भविष्यको जलवायुमा मानवहरूको अझै पनि नियन्त्रण छ । उत्सर्जनमा कटौती गरेर तापक्रम वृद्धिको परिणामलाई कम गर्न सकिन्छ ।
डा जेक होसफादर भन्छन्, “यद्यपि तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि पुगिसकेको छ, तर हामी यस शताब्दीमा तापक्रमलाई १.६, १.७ वा १.८ डिग्री सेल्सियससम्म सीमित गर्न सक्छौं ।”
उनले थपे, “यदि हामी कोइला, तेल, र ग्यासलाई रोकटोकविनाको हिसाबले यसरी नै जलाइरह्यौं भने, अन्ततः तापक्रम तीन डिग्री सेल्सियस वा चार डिग्री सेल्सियससम्म पुग्न सक्छ । त्यस अवस्थामा १.६ डिग्री सेल्सियसदेखि १.८ डिग्री सेल्सियससम्म सीमित रहनु बढी उचित हुनेछ । किनभने अझै पनि यसले ठूलो महत्त्व राख्छ ।”
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime