Skip to content
Prabhu

म्याग्दी महोत्सवमा १० करोडको कारोबार

म्याग्दी । बेनीमा आयोजना भएको आठौं म्याग्दी महोत्सव एवं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला, २०८१ मा  १० करोड रुपैयाँ बराबरको कारोबार भएको जनाइएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा माघे सङ्क्रान्तिका अवसरमा गत पुस २८ गतेदेखि यही माघ ८ गतेसम्म आयोजना भएको महोत्सवमा कुल दुई सय ३० वटा प्रदर्शनी कक्ष राखिएका थिए । महोत्सवमा एक लाखले अवलोकन गरेको र १० करोड रुपैयाँ बराबरको कारोबार भएको म्याग्दी उद्योग वाणिज्य संघका कोषाध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए ।
‘हाम्रो लक्ष्यअनुसार नै कारोबार गर्न र दर्शक भित्र्याउन सफल भएका छौँ’, उनले भने, ‘टिकट बिक्रीबाट मात्रै करिब रु ५० लाख आम्दानी भएको छ ।’ महोत्सवमा स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय औद्योगिक, कृषि तथा पशुजन्य, सूचना प्रविधि, कपडा, खाद्यान्न, भाडाको प्रर्दशनी गरिएको थियो । स्थानीय उत्पादनका ३० वटा स्टलमा भने निःशुल्क प्रर्दशनीको व्यवस्था मिलाइएको थियो । नेपाली कागज, सिमीको दाल, अल्लो, ढाका कपडा, मौलिक खानाका परिकारका स्टल पनि राखिएको थियो ।
महोत्सवमा पुरुष–महिला भलिबल, बास्केटबल, लोक दोहोरी गीत, पुख्र्यौली नाच, रत्यौली गीत, भजन, म्याग्दी आइडल एकल लोक नृत्य प्रतियोगिता र विभिन्न जातजातिको भाँकी प्रदर्शन गरिएको थियो ।
म्याग्दीको समग्र सम्भावनाको उजागर भई लगानी भित्र्याउन तथा आर्थिक गतिविधि चलायमान बनाउन महोत्सव सहयोगी भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए । उनले म्याग्दीको पर्यटन, कृषि, जलविद्युत्, खनिज, वन पैदावारजन्य उद्योग व्यवसायमा लगानी भित्र्याउन, संस्कृति संरक्षण, प्रतिभा पहिचान, प्रबर्द्धन र खेलकुदलाई महोत्सवसँग जोडिएको बताए ।
चीन र भारतको व्यापारिक प्राचीन रेशमीमार्ग र ‘साल्ट टे«ड रुट’को रुपमा परिचित कालीगण्डकी करिडोरको एक प्रमुख व्यापारिक केन्द्र बेनीको महत्वलाई झल्काउने तथा आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
दुई सय वर्ष पहिले बेनीमा चीन र भारतसम्मका मानिसहरु माघे सङ्क्रान्ति मेलामा किनमेलका लागि आउने गर्दथे । सोही सिलसिलामा काठमाडौँ उपत्यकाका नेवार समुदाय बेनीमा बसाइ सरेर आएको र यहाँ बस्ती बसेका थिए ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal