Skip to content

सरकार सामाजिक सञ्जाल प्रयोगकर्ता कस्ने कानुन ल्याउँदै, ५ वर्षसम्म कैद र १ करोडसम्म जरिवाना प्रस्ताव

nabil bank

काठमाडौं । सरकारले सामाजिक सञ्जाल ‘प्लाटफर्म’ र त्यसका प्रयोगकर्तालाई कस्ने गरी सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्ने कानुन ल्याउने तयारी गरेको छ । कानुनका लागि तयार पारिएको विधेयकमा एक करोडसम्म जरिवाना र पाँच वर्षसम्म कैद हुन सक्ने कडा व्यवस्था राखिएको छ ।

विधेयक गत सोमबार मन्त्रिपरिषद् बैठकले पारित गर्दै संसदमा पठाउने निर्णय गरेको थियो । सञ्चार क्षेत्रसँग सम्बद्ध व्यक्तिहरूले विधेयकमा व्यवस्था गरिएका शतप्रतिशत कसुरलाई फौजदारी कसुरअन्तर्गत राखिएकाले भविष्यमा यसको दुरुपयोग हुन सक्ने भन्दै प्रश्न उठाएका छन् ।

सरकारले प्रस्ताव गरेको यो विधेयकको दफा ३ मा सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । दफा ३ मा ‘प्लेटफर्म सञ्चालन गर्न चाहने कम्पनी, फर्म वा संस्थाले यस ऐनबमोजिम सञ्चालन अनुमतिपत्र लिनुपर्ने’ उल्लेख छ । यसैगरी दफा १२ मा सञ्चालन अनुमतिप्राप्त व्यक्ति वा सामाजिक सञ्जाल प्रयोगकर्ताले पालना गर्नुपर्ने शर्तहरू उल्लेख गरिएको छ ।

जसअनुसार नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, एकता, स्वाधीनता, स्वाभिमान वा राष्ट्रिय हितमा खलल पुग्ने वा सामाजिक, सांस्कृतिक तथा धार्मिक सद्भाव भड्काउने लगायतका विषयवस्तु सामाजिक सञ्जालमा राख्न र प्रचार–प्रसार गर्न पाइने छैन । विधेयकअनुसार प्रचलित कानुन विपरीतका विषयवस्तु पोस्ट वा सेयर गर्न नमिल्ने प्रविधिको व्यवस्था गर्नुपर्ने छ ।

ऐनको प्रस्तावनामा ‘सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार तथा जवाफदेही बनाई सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित र नियमन गर्न आवश्यक भएकाले कानुन निर्माण गरिएको’ उल्लेख छ । तर, नियमन गर्ने नाममा व्यक्तिगत स्वन्त्रतालाई कुण्ठित गर्न नहुने विषयमा पनि बहस भइरहेको छ ।

प्लेटफर्ममा प्रसार भएका विषयवस्तुको तथ्यको जाँच पनि सामाजिक सञ्जाल सञ्चालकले नै गर्नुपर्ने छ । यस्ता प्लेटफर्मबाट हुने आर्थिक कारोबार बैंकिङ प्रणालीबाट हुने व्यवस्था सुनिश्चित गर्नुपर्ने छ । तोकिएको सर्त पालना नगर्ने व्यक्तिलाई २५ लाखदेखि १ करोड रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ ।

विधेयकको दफा १६ मा सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि कसैको मान प्रतिष्ठामा आँच पुग्ने वा होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृश्य, तस्बिरको ट्रोल बनाउने, गाली बेइज्जती वा हेट स्पीच मानिने काम गर्न पाइने छैन भन्ने व्यवस्था गरिएको छ । यसैगरी कसैले पोस्ट गरेका कानुन विपरीतका यस्ता विषय अरू कसैले पोस्ट, सेयर, लाइक, रिपोस्ट, लाइभ स्ट्रिमिङ, सब्सक्राइब, कमेन्ट, ट्याग, ह्यासट्याग वा मेन्सन गर्न समेत नहुने विधेयकमा उल्लेख छ ।

कानुनले निषेध गरेका क्रियाकलापको नक्कल वा सेयर गरे वा अन्धविश्वास फैलाउने काम गरे पाँच लाख रुपैयाँसम्म जरिवाना हुनेछ । अनुमतिपत्र नलिई वा रोक लगाइएको सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गरे २५ लाख रुपैयाँसम्म जरिवाना हुनेछ । राष्ट्रहित प्रतिकूल काम गरे, साइबर बुलिङ गरे दुई वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

साइबर स्टकिङ अर्थात् इन्टरनेट प्रविधिको प्रयोग गरी कसैलाई झुटा आरोप लगाए, धम्की दिए, जालसाजी गरे वा दुर्व्यवहार गरी वैयक्तिक सुरक्षामा खतरा पुर्‍याए तीन वर्षसमम कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । कसैको आईडी वा सूचना ह्याक गरे तीन वर्षसम्म कैद वा १५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था विधेयकमा छ ।

फिसिङ वा इम्पोस्टर स्क्याम गरे कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा १५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । कसैको व्यक्तिगत वा निजी तस्बिर, अडिओ वा भिडिओ सामाजिक सञ्जाल प्रयोग गरी सार्वजनिक गर्ने वा कसैसँग शेयर गर्ने धम्की दिएर यौन शोषण, आर्थिक लाभ वा हिंसाका लागि बाध्य पारे ३ वर्षसम्म कैद वा १५ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था विधेयकमा गरिएको छ ।

अश्लील, मिथ्या वा भ्रामक विषयवस्तु सामाजिक सञ्जालबाट प्रचार गर्नेलाई दुई वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

डिपफेक भिडिओ अपलोड वा प्रचार गरे दुई वर्षसम्म कैद वा तीन लाख जरिवाना वा दुवै सजाय हुनेछ । बेनामी वा छद्मभेषी अर्थात फेक आईडी बनाउन वा प्रयोग गर्न समेत पाइने छैन । कसैले त्यस्तो काम गरेमा पाँच वर्षसम्म कैद वा १५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

सार्वजनिक पद धारण गरेको वा राज्य कोषबाट सुविधा लिएको कुनै व्यक्तिले यो कानुन अनुसार कसुर हुने काम गरेमा थप ५० प्रतिशतसम्म सजाय हुनेछ । कसैले सामाजिक सञ्जालको प्रयोग गरी प्रचलित कानुनबमोजिम कसुर हुने काम गरेमा वा त्यस्तो कसुर गर्न दुरुत्साहन गरेमा प्रचलित कानुनबमोजिम हुने सजायमा एक वर्षसम्म थप सजाय हुनेछ।

विधेयकको दफा २३ मा ‘सेक्सटोर्सन’ वा ‘एक्सटोर्सन’ गर्न नहुने व्यवस्था छ । जस अनुसार ‘कसैको नितान्त व्यक्तिगत तथा निजी तस्बिर, अडिओ वा भिडिओ सामाजिक सञ्जालको प्रयोग गरी सार्वजनिक गर्ने वा कसैसँग शेयर गर्ने धम्की दिई यौन शोषण, आर्थिक लाभ वा हिंसाका लागि बाध्य पारी सेक्सटोर्सन गर्न पाइने छैन ।’

यसैगरी ‘कसैलाई सामाजिक सञ्जालको प्रयोग गरी क्षति पुर्याउने डर त्रासमा पारी बेइमानीपूर्वक आफ्नो वा अरू कसैको लागि कुनै लाभ उठाउने गरी एक्सटोर्सन’ समेत तीन वर्षसम्म कैद वा १५ लाखसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

सामाजिक सञ्जाल प्लेटफर्ममा राखिएका कुनै विषय हटाउन सरकारले निर्देशन दिए तत्काल हटाउनुपर्ने व्यवस्था विधेयकमा गरिएको छ । नेपाल बाहिरबाट सञ्चालित अनुमतिप्राप्त व्यक्तिले सामाजिक सञ्जाल प्रयोगको गुनासो सम्बोधन गर्न तथा सम्पर्क गर्ने प्रयोजनका लागि नेपालभित्रै सम्पर्क बिन्दुको स्थापना गर्नुपर्ने भएको छ । कानुन कार्यान्वयन भएको तीन महिनाभित्र सम्पर्क बिन्दुको स्थापना गर्नुपर्ने वा सम्पर्क बिन्दु तोक्नुपर्ने व्यवस्था समेत गरिएको छ ।

त्यति मात्र होइन, गुनासो सुन्नका लागि चौबिसै घण्टा उपलब्ध हुने गरी पदाधिकारीको व्यवस्था गर्नपर्ने र द्रुत प्रतिकार्य समूह गठन गर्ने कुरा पनि विधेयकमा उल्लेख छ । यो विधेयक संसद्‌मा पेश भएर पारित भएपछि लागू हुनेछ र यो विधेयक अन्तर्गतका कसुरमा सरकारवादी फौजदारी मुद्दा लाग्नेछ ।

कुन कसुरमा कस्तो सजाय ?
– अनुमति नलिई वा रोक लगाएको सामाजिक सञ्जाल प्लाटफर्म सञ्चालन गरे २५ लाख रुपैयाँसम्म जरिवाना ।

– राष्ट्रहित प्रतिकूल हुने कार्य गरे कसुर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पाँच लाखसम्म जरिवाना वा दुवै सजाय ।

– साइबर बुलिङ कसुर गर्नेलाई दुई वर्षसम्म कैद वा तीन लाखसम्म जरिवाना वा दुवै सजाय ।

– साइबर स्टकिङ कसुर गर्नेलाई तीन वर्षसम्म कैद वा पाँच लाखसम्म जरिवाना वा दुवै सजाय ।

– कसैको आइडी तथा सूचना ह्याक गर्नेलाई तीन वर्षसम्म कैद वा १५ लाखसम्म जरिवाना वा दुवै सजाय ।

– फिसिङ वा इम्पोस्टर स्क्याम गरे तीन वर्षसम्म कैद वा १५ लाखसम्म जरिवाना वा दुवै सजाय ।

– सेक्सटोर्सन वा एक्सटोर्सन कसुर गर्नेलाई तीन वर्षसम्म कैद वा १५ लाखसम्म जरिवाना वा दुवै सजाय ।

– बीभत्स तस्बिर वा अडियो वा भिडियो पोस्ट वा सेयर गरे कसुर गर्नेलाई तीन महिनासम्म कैद वा ५० हजारसम्म जरिवाना वा दुवै सजाय ।

– अश्लील, मिथ्या वा भ्रामक विषयवस्तु प्रसार गर्नेलाई दुई वर्षसम्म कैद सजाय वा तीन लाखसम्म जरिवाना वा दुवै सजाय ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life