Skip to content
Prabhu

शिलान्यासको पाँच वर्षपछि निर्माण हुँदै ‘नमूना सदरमुकाम’

nabil

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माणको प्रक्रियाअघि बढेको छ । शिलान्यासको पाँच वर्षपछि जिल्लाको महत्वपूर्ण आयोजनका रुपमा हेरिएको नमूना सदरमुकाम निर्माण प्रक्रियाअघि बढाइएको हो ।

जिल्लामा रहने सङ्घ तथा प्रदेश मातहतका सरकारी कार्यालय एकै स्थानमा बनाउने गरी कावासोती नगरपालिका–३, मा रहेको एक सय ८७ बिघा जग्गामा नमूना सदरमुकाम निर्माण थालनी गरिएको थियो । विसं २०७६ वैशाख ७ गते नमूना सदरमुकाम निर्माणको योजनाअनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

सङ्घीयतापछि तत्कालीन नवलपरासीबाट अलग भएको नवलपुरको नयाँ, व्यवस्थित र आधुनिक शैलीको सदरमुकाम निर्माण गर्ने योजनाअनुसार यसलाई नमूना सदरमुकाम नामकरण गरी काम थालिएको थियो । शिलान्यासको पाँच वर्षपछि मात्र निर्माणको जिम्मा पाएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनले भवन निर्माणको प्रक्रिया सुरु गरेको छ ।

आयोजना कार्यालयले विसं गत चैत २५ गते भवन निर्माणको ठेक्का खुलाएको छ । एक महिनाको समय राखेर भवन निर्माणका लागि ठेक्का आह्वान गरेको आयोजना कार्यालयका प्रमुख झपटबहादुर थापाले बताए । नवलपुरको नमूना सदरमुकाम निर्माणस्थलमा पहिलो चरणमा ५० करोड रुपैयाँको काम गर्न लागिएको उनले जानकारी दिए ।

५० करोड रुपैयाँ बजेट सुनिश्चित भएसँगै पहिलो चरणमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी पाँचवटा कार्यालयका लागि भवन निर्माण प्रक्रियाअघि बढेको कार्यालय प्रमुख थापाले बताए । पहिलो चरणमा बन्ने भवनमध्ये जिल्ला प्रशासन कार्यालयको अलग भवन रहने छ ।

बाँकी सेवाको एकरूपता हुने किसिमका कार्यालय रहने गरी दुई भवनमा चार वटा खण्ड हुने छन् । जसमा चार वटा कार्यालय रहनेछन् । ‘यसअघि काम हुन सकेको थिएन, पहिलो चरणमा केही कार्यालय रहने गरी भवन निर्माणको प्रक्रिया अघि बढेको छ, तीन आवमा पहिलो चरणको काम सक्ने लक्ष्य छ’, कार्यालय प्रमुख थापाले भने।

निर्माणस्थलमा अन्य सरकारी कार्यालयको भवन तथा बाटो निर्माण, निर्माणस्थलको उत्तरी क्षेत्रमा रहेको केरुङ्गे खोलाको बाढी नियन्त्रणलगायत कार्य गर्न थप बजेट माग गरिएको उनको भनाइ छ । थप बजेट सुनिश्चित भएपछि निर्माणअन्तर्गत दोस्रो चरणको काम अघि बढ्ने उनले बताए ।

दोस्रो चरणमा भवन निर्माणको लागि ५ अर्ब र बाटोलगायत अन्य कार्यका लागि २ अर्ब ५० करोड रुपैयाँ सरकारसँग माग गरिएको कार्यालय प्रमुख थापाले जानकारी दिए ।

नमूना सदरमुकाम निर्माणस्थलमा यसअघि करिब १० करोड रुपैयाँको लागतमा कच्ची बाटो निर्माण गरिएको थियो । सोबाहेक अन्य कुनै काम अघि नबढेको अवस्थामा पहिलो चरणमा भवन निर्माणको प्रक्रिया सुरु हुनु जिल्लावासीका लागि खुसीको कुरा भएको जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले बताए ।

‘सरकारी कार्यालय अहिले यत्रतत्र छरिएर रहेका छन्, त्यसमाथि भाडाको घरमा सञ्चालन हुँदा, साँघुरो छन्, सेवाग्राही मैत्री छैनन्, नमूना सदरमुकाममा भवन निर्माणको काम सुरु हुने सबैका लागि खुसीको कुरा हो’, उनले भने ।

पहिलो चरणको काममा कुनै विलम्ब नगरी सम्पन्न गर्नेतर्फ लाग्नुपर्ने र अन्य कार्यालयका लागि समेत थप बजेट सुनिश्चित गरी काम अघि बढाउन आवश्यक रहेको उनको भनाइ छ । नमूना सदरमुकाम निर्माणस्थलमा सङ्घ, प्रदेश कार्यालय, पुस्तकालय, सभाहल, बैंक, अतिथि गृह, आवास गृह, रङशाला, सूचना केन्द्र, प्रहरी तालिम केन्द्र, पार्कलगायत संरचना निर्माण गर्ने योजना रहेको छ । प्रारम्भिक योजनाअनुसार नमूना सदरमुकाम निर्माणका लागि करिब रु १६ अर्ब लाग्ने अनुमान गरिएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal