Skip to content
Prabhu

मोहन्यालमा नौ वटा सिँचाइ योजनाको काम सुरु

nabil
गोदावरी । कैलालीको मोहन्याल गाउँपालिकाका पाँच वडामा नौ वटा सिँचाइ योजनाको काम सुरु भएको छ । कृषकको खेतबारीमा सिँचाइ सुविधा पुर्याउन वडा नं ३, ४, ५, ६ र ७ मा सिँचाइ योजनाको काम सुरु गरिएको हो ।
खाद्यबाली, तरकारी र फलफूल उत्पादन वृद्धि गर्न खेतीयोग्य जमिनमा सिँचाइ योजनाको काम उपभोक्ता समितिमार्फत सञ्चालन भइरहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले जनाएको छ ।
चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकार र सङ्घ सशर्त अनुदानबाट विनियोजित २ करोड २० लाखबाट ती योजना सुरु भएको सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख इञ्जिनियर अमरबहादुर पालले जानकारी दिए ।
सिँचाइ कार्यालयका अनुसार पट्रेनी सिँचाइ योजनामा २५ लाख रुपैयाँ , बडापानीमा १५ लाख, आमखोलामा १५ लाख, मौतोलीमा १५ लाख, माथिल्लो बारेगडामा २० लाख, बागेरवामा २० लाख, पटघारीमा २५ लाख, ओखडेको कोटमा २० लाख र अप्रीखोलामा २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
त्यसैगरी मोहन्याल गाउँपालिका–३ मा एकीकृत ऊर्जा तथा सिँचाइ विशेष कार्यक्रमअन्तर्गत सङ्घ सशर्त अनुदानमार्फत रागमलेखा लिफ्ट सिँचाइ योजनाका लागि रु ५० लाख बजेट विनियोजन गरिएको कार्यालय प्रमुख पालले बताए । सो योजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भई कार्यान्वयनको चरणमा रहेको छ ।
खाद्यबाली, तरकारी र फलफूलखेतीको सम्भावना बोकेको मोहन्यालका किसानले सिँचाइ अभावका कारण आकाशे पानीका भरमा खेती गर्दै आएका थिए । सिँचाइ योजना सम्पन्न भएपछि सधैँका लागि समस्या समाधान हुने स्थानीय टेकेन्द्र बोगटीले बताए । निर्माण सुरु गरिएका योजनामध्ये तीन वटा क्रमागत र बाँकी योजना नयाँ हुन् ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal