Skip to content
Prabhu

नेपाल-कतार संयुक्त वाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित ‘नेपाल–कतार संयुक्त वाणिज्य परिषद्’ बुधबार स्थापना भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले नेतृत्व गर्ने परिषद् स्थापनाका लागि बुधबार दुवै चेम्बरबीच सम्झौता भएको हो ।

कतारका अमिर शेख तमिम विन हमाद अल थानी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफा बिन जसिम अल थानीले उक्त सम्झौतामा हस्ताक्षर गरे । उक्त परिषदले व्यापार विस्तार, लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण, पर्यटन प्रवर्द्धनका क्षेत्रमा काम गर्ने छ ।

आर्थिक वृद्धि भैरहेको खाडी मुलुक कतारसँग सम्वादका लागि परिषद स्थायी संयन्त्र बनेको छ । संयुक्त वाणिज्य परिषद्को उद्देश्य कतार र नेपालका निजी क्षेत्रबीच सहकार्य र समझदारी बढाउनु रहेको सम्झौतामा उल्लेख्य गरिएको छ । सम्झौतामा भनिएको छ, ‘नेपालीहरुको कामको गन्तव्यका रुपमा चिनिँदै आएको कतारको लगानी आकर्षित गर्न र व्यापार विस्तार गर्न परिषदले प्रभावकारी भूमिका खेल्नेछ । खाडी मुलुकमा कृषिजन्य उत्पादन, पानी, जडिबुटी, मसला र मसलाजन्य वस्तु लगायतको अत्यधिक माग छ । तीव्र आर्थिक विस्तारका कारण कतार लगानी गन्तव्यका रुपमा रहेको हुँदा नेपालमा लगानी आकर्षित गर्न परिषदले प्रभावकारी भूमिका निर्वाह गर्नेछ । यसैग ीपर्यटन प्रवर्द्धनका क्षेत्रमा पनि परिषदले काम गर्नेछ ।’

परिषद स्थापनापछि दुई चेम्बरबीचको सहकार्य थप प्रगाढ भएको र यसले लगानी र व्यापार विस्तारमा सहयोग पुग्ने दुवै अध्यक्षले धारणा राखे । ‘यस सम्झौताले आगामी दिनमा सहकार्यालाई थप बढाउनेछ,’ कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले भने । यसैगरि महासंघ अध्यक्ष ढकालले परिषदका मार्फत थप सहकार्यका लागि थप काम गरिने बताए । ‘कतारको तीव्र आर्थिक बिकासबाट फाइदा लिन परिषदले निरन्तर काम गर्नेछ, ’ महासंघका अध्यक्ष ढकालले भने । यसैगरी महासंघ अध्यक्ष ढकालले परिषदको स्थापना पछि नेपालको जल विद्युत, पर्यटन पूर्वाधार, सूचना प्रविधि र कृषि प्रशोधनका क्षेत्रमा लगानी बढाउन सहज हुनेछ बताए ।

यसैगरि महासंघ र कतार चेम्बरबीचको समझदारी पनि नविकरण भएको छ । नयाँ समझदारीपत्रमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले हस्ताक्षर गरे । उक्त सम्झौता पनि कतारका अमीर शेख तमीम विन हमाद अल थानी र नेपालका प्रधानमन्त्री पुष्प कमल दाहालको उपस्थितिमा भएको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal