Skip to content
Prabhu

रासस र कतार न्यूज एजेन्सीबीच समाचार आदानप्रदानका लागि सम्झौता

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) र कतार न्यूज एजेन्सी (क्युएनए)बीच समाचार सामग्री आदानप्रदान गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमणका क्रममा आज दुवै देशका राज्यद्वारा सञ्चालित समाचार एजेन्सीबीच समझदारीपत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कतारका अमिर अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विशेष उपस्थितिमा दुई देशका समाचार एजेन्सीबीच समाचार आदन–प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार डा रुपक सापकोटाले जानकारी दिए।

राससले उत्पादन गरेका समाचार क्युएनएमार्फत कतारका सञ्चारमाध्यमले र क्युएनएले उत्पादन गरेका समाचार राससमार्फत विभिन्न सञ्चारमाध्यमलाई प्रयोग गर्न सहज भई दुवै देशका जनता लाभान्वित हुनेछन् ।

रासस विसं २०१८ फागुन ७ गते स्थापना भएको राज्यद्वारा सञ्चालित नेपालको एकमात्र समाचार एजेन्सी हो । यसैगरी क्युएनए सन् १९७५ मे २५ मा स्थापना भएको कतारद्वारा सञ्चालित कतारको समाचार एजेन्सी हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal