काठमाडौँ । नेपालका एक मात्र डलर अर्बपछि बिनोद चौधरीको सम्पत्ति बढेको छ । विश्व प्रसिद्ध पत्रिका फोर्ब्र्सले सार्वजनिक गरेको ३९औँ वार्षिक धनीहरुको सूचीमा चौधरीको सम्पत्ति गत वर्षको तुलनामा ११ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
चौधरी सिजी कर्प ग्लोबलका अध्यक्ष हुन् । उनको प्रमुख लगानी नेपालको नबिल बैंक, सिजी फूड्सअन्तर्गतको वाइवाइ चाउचाउ हो । वाइवाइ नेपाल र भारतका साथै पछिल्लो समय बंगालदेश, सर्बिया र इजिप्टमा पनि उत्पादन भइरहेको छ । सिजीले विश्वका विभिन्न देशमा १४३ वटा होटलहरु व्यवस्थापन गरिरहेको छ जसमा केही होटलहरु सिजीको स्वामित्वमा छन् । जसमा भारतको ताज होटल चेन भएका होटलहरु पनि छन् । चौधरीका छोरा निर्वाण नेपालमा बस्छन् भने राहुल र वरुण विदेशमा बस्छन् ।
फोर्ब्सका अनुसार ६९ वर्षे चौधरीको सम्पत्ति दुई अर्ब डलर पुगेको छ । आजका दिनमा यो २ खर्ब ७४ अर्ब रुपैयाँ हुन आउँछ । सन् २०२४ मा उनको सम्पत्ति १.८ अर्ब डलर थियो । सन् २०१६ मा चौधरीसँग कुल १.१ अर्ब डलरको सम्पत्ति थियो भने सन् २०१७ मा १.३ अर्ब डलर, सन् २०१८ मा १.५ अर्ब डलर र सन् २०१९ मा सम्पत्ति बढेर १.७ अर्ब डलर पुगेको थियो । तर कोरोना महामारीको समयमा अर्थात् सन् २०२० मा सम्पत्ति घटेर १.४ अर्ब डलरमा झरेको थियो भने सन् २०२१ मा १.४ अर्ब डलर, सन् २०२२ मा १.५ अर्ब डलर, सन् २०२३ र सन् २०२४ मा सम्पत्ति बढेर १.८ अर्ब डलर पुगेको थियो । हाल उनी विश्वका डलर अर्बपतिको सूचीमा १७६३ नम्बरमा छन् ।
उक्त सूचीको पहिलो नम्बरमा ३४२ अर्ब डलरसहित एलन मस्क, दोस्रो नम्बरमा २१६ अर्ब डलरसहित फेसबुकका संस्थापक मार्क जुकरवर्ग, तेस्रो नम्बरमा २१५ अर्ब डलरसहित जेफ बेजोस छन् ।
भारतका मुकेश अम्बानी ९२.५ अर्ब डलरसहित १८औँ नम्बरमा छन् भने ५६.३ अर्ब डलरको सम्पत्ति सहित गौतम अडानी २८औँ नम्बरमा छन् ।
प्रतिक्रिया दिनुहोस्