Skip to content

मेचीनगरमै ३३७ प्रजातिका चरा, ‘बर्ड सेञ्चुरी’ घोषणा गर्न माग

 

झापा । चरा तथा वन्यजन्तु संरक्षण अभियन्ता देवेन्द्र खरेलले मेचीनगरलाई चरा संरक्षण क्षेत्र (बर्ड सेञ्चुरी) घोषणा गर्नुपर्ने माग गरेका छन् । नगरभित्र ३३७ प्रजातिका चरा पाइने र दुर्लभ मानिएका चरासमेत ठूलो सङ्ख्यामा यही क्षेत्रमा भएकाले ‘बर्ड सेञ्चुरी’ घोषणा गर्न आवश्यक रहेको उनले बताए ।

रिडर्स झापाले पर्यटन कार्यालय काँकरभिट्टाको सभाहलमा आज आयोजना गरेको ‘चरी चर्चा’ कार्यक्रममा बोल्दै उनले स्थानीय सामुदायिक वनद्वारा संरक्षित बाँसबारी र कालिका सिमसार क्षेत्रलाई एकीकृत गरी ‘बर्ड सेञ्चुरी’ निर्माण गर्न सकिने र त्यसबाट पर्यटक आकर्षण बढ्ने बताए ।

नेपालबाट लोप भइसकेको घोषणा गरिएको हङरायो (हर्नबिल) चरा इलाममा खोजेर विश्वभर चर्चा पाएको मेचीनगर–७ निवासी खरेलले मेचीनगर वडा नं १५ मा दुर्लभ हरित परेवा रहेको पत्ता लगाएका थिए । ढुकुर प्रजातिको यो चरा मेचीनगरबाहेक नेपालमा अन्यत्र पाइएको छैन ।

उनका अनुसार नेपालमा पाइएका सातै प्रकारका चिबे र पाँचै प्रकारका रुप्पी मेचीनगरमा पाइएको छ भने नेपालमा पाइएका चार प्रजातिका धनेश चरामध्ये हङरायोबाहेक तीनवटा प्रकार यहीँ भेटिएको छ । अतिसङ–टापन्न अर्थात् दुर्लभ चरामध्ये ठूलो बगर बट्टाई, हरित परेवा, पेटकैले कोइली, बगाले बगेडी, कालोटाउके बगेडी, कालो टाउके बिरहीचरी, ठूलो माकुरी चरी, प्याजीकाने बुङचरा र कानकैले बगेडी मेचीनगरमा पाइएका छन् ।

नेपाल र भारतकै सबैभन्दा सानो मानिएको आठ सेमी छोटो रातोठुँडे पुष्पकोकिल र एक सय २० सेमी लामो भुँडीफोर गरुड चरा मेचीनगरमै रहेको उनले सप्रमाण पुष्टि गरेका छन् । 

मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्षसमेत रहनुभएका उनले चराको खोजीमा लाग्दाको अनुभव, चराको परिचय र महत्वबारे चर्चा गरेका थिए। उनले ‘मेचीनगरलाई के कुराले चिनाउँछ’ भनेर छोरीले सोधेको साधारणजस्तो लाग्ने प्रश्नबाट प्रभावित भएर चराबाटै नगरको पहिचान दिलाउने अभियानमा होमिएको बताए ।

यस क्षेत्रमा लाग्न सरकारी र संस्थागत रूपमा उल्लेख्य आर्थिक प्रोत्साहन नभए पनि व्यक्तिगत रूपमा ठूलो लगानी गरेर टाढैबाट सटिक तस्वीर खिच्न सक्ने शक्तिशाली लेन्सयुक्त क्यामरा किन्ने गरेको र मिडिया जगत्ले धेरै माया गरेर संसारभर चिनाएको उनले बताए।

परिवारबाट राम्रो सहयोग पाएको जनाउँदै उनले चरालाई नमार्न आग्रह गरे । कार्यक्रमको सुरुआतमा रिडर्स झापाकी सदस्य सञ्जु साम्पाङले विषय प्रवेश गराउँदै चरा संरक्षण अभियानबाटै खरेलले नेपालको नाम उँचो पार्नुभएको बताएका थिए।

कार्यक्रम हात्ती संरक्षण अभियन्ता शङ्कर लुइँटेलले हात्ती र चराबीच गहिरो सम्बन्ध रहेको बताउनुभयो । हात्ती हिँड्ने मार्गलाई चराचुरुङ्गीले पछ्याउने गरेको र गाईवस्तुको वरिपरि दिनभर चर्ने बकुल्ला, रुप्पीलगायतका चराबारेमा उनले चर्चा गरेका थिए।

नेपालमा ८ सय ८६ प्रजातिका चरा रहेकामा आफूले नै हरित परेवा नामक नयाँ चराको खोजी गरेर मुलुकमा पाइने चराको सङ्ख्या आठ सय ८७ पुर्याएको उनले जानकारी दिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life