काठमाडौं । केही दिनपछि चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधि पनि सकिँदैछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधि सकिएको पनि तीन महिना पुग्नै लागिसक्यो । कानुनी रुपमा कुनै पनि बीमकले त्रैमासिक अवधि सकिएको ३० दिनभित्र वित्तीय विवरण सार्वजनिक गरिसक्नु पर्ने हुन्छ ।
बीमा ऐनको दफा ८४ त्रैमासिक अवधि सकिएको ३० दिनभित्र वित्तीय विवरण सार्वजनिक गरिसक्नु पर्ने उल्लेख गरिएको छ । तर, नेपाल रि इन्स्योरेन्सले भने आर्थिक वर्षको सकिएको ९ महिनापछि गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको यो कम्पनीले चालु आर्थिक वर्षका दुईवटा त्रैमासिकको वित्तीय विवरण कहिले सार्वजनिक गर्ला ? जबकि अबको ११ दिनपछि त चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधि पनि समाप्त हुन्छ । त्यसको एक महिनाभित्र कम्पनीहरुले तेस्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गर्छन् ।
तेस्रो क्वाटर सकिने केही दिन बाँकी रहँदा गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको यो कम्पनीले चालु आर्थिक वर्षका वित्तीय विवरणहरु सार्वजनिक गर्नका लागि पनि समय लाग्ने पक्का छ । अधिकांश सरकारी स्वामित्व रहेको यो कम्पनीका सेयरधनीहरुले वित्तीय विवरण जानकारी पाउनका लागि अझै केही समय कुर्नुपर्ने देखिन्छ । यो कम्पनीमा १६ प्रतिशत सेयर आम सर्वसाधारणको रहेको छ ।
नेपाल रिको जस्तै व्यवसाय गर्ने हिमालयन रिले भने चालु आर्थिक वर्षको दुईवटा त्रैमासिकसम्मको वित्तीय विवरण आफ्ना सेयरधनीहरुलाई जानकारी दिइसकेको छ । कम्पनीमा सरकारको ४४ प्रतिशत सेयर रहेको छ । समयमा काम नहुने नेपालको रोग नै हो । यसैको मानकका रुपमा नेपाल रि देखिएको छ ।
कानुनमा कुनै पनि बीमकले आफ्नो त्रैमासिक वित्तीय विवरण त्रैमासिक अवधि सकिएको ३० दिनभित्र सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था रहेको छ । तर, नेपाल पुनर्बीमा कम्पनीले कानुनकै धज्जी उडाएर गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरण (आज) बिहीबार सार्वजनिक गरेको छ ।
कम्पनीले ३० दिनभित्र विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था भए पनि समयमा नगरेको विषयमा नियामक निकाय नेपाल बीमा प्राधिकरण समेत मुखदर्शक बनिरहेको छ ।
प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले ३० दिनभित्र विवरण सार्वजनिक गर्नुपर्ने भए पनि नेपाल रिले के कारणले नगरेको भन्ने विषयमा आफूलाई जानकारी नभएको बताए ।
३० दिनभित्र वित्तीय विवरण पेस गर्नुपर्ने जानकारी राख्ने निकायले कुन कम्पनीले कति समयदेखि किन वित्तीय विवरण सार्वजनिक गरेको छैन भन्ने जानकारी छैन भन्नु आफैमा अनौठो कुरा हो । वित्तीय विवरण कम्पनीका कारणले हो वा अन्य कुनै कारणले हो त्यो हेरेर कम्पनीलाई सचेत गराउने र आवश्यक कारवाही गर्ने गरिएको उनको भनाइ छ ।
बीमा ऐनको दफा १३८ अनुसार आर्थिक बर्ष सकिएको ६ महिना समाप्त भएको एक हप्तासम्म विवरण पेश नगर्ने कम्पनीलाई दैनिक २५ हजार रुपैयाँका दरले जरिवाना लाग्ने व्यवस्था रहेको छ । त्यस्तै २ हप्ता नाघेमा दैनिक ५० हजार रुपैयाँका दरले जरिवाना लाग्नेछ भने यदि २ हप्ताभन्दा बढी भएको समयमा दैनिक एक लाख रुपैयाँका दरले कारबाही हुने कानुनी व्यवस्था रहेको छ ।
यस्तो छ नेपाल रिको वित्तीय अवस्था
सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा २७.४१ प्रतिशतले घटेको छ । गत आवमा काम्पनीले १ अर्ब १३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा कम्पनीले १ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घट्न पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी अघिल्लो आवमा १२ रुपैयाँ १७ पैसा रहेकोमा गत आवमा घटेर ८ रुपैयाँ ४३ पैसा कायम भएको छ ।
गत आवमा कम्पनीले ९ अर्ब ४९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीको यस्तो आम्दानी ९ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो । गत आवमा कम्पनीको कुल आम्दानी पनि १२ अर्ब ३० करोड रुपैयाँबाट घटेर ११ अर्ब २८ करोड रुपैयाँमा झरेको छ ।
चुक्ता पुँजी १३ अर्ब ४२ करोड रुपैयाँ रहेको यस कम्पनीको स्पेशल रिजर्भमा ४ अर्ब ४० करोड रुपैयाँ, महाविपत्ति कोषमा ३२ करोड र रिटेन्ड अर्निङमा ५२ करोड रुपैयाँ रहेको छ । गत आवमा कम्पनीको बीमा कोषको आकार ७ अर्ब २४ करोड रुपैयाँबाट बढेर ९ अर्ब रुपैयाँमाथि पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्