काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनासम्ममा विदेशी विनिमय सञ्चिति २४ खर्ब ९ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चिती फागुन मसान्तसम्मको अवधिमा आइपुग्दा १८ प्रतिशतले बढेको हो ।
सञ्चिति अमेरिकी डलरमा असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा फागुन मसान्तमा १३.१ प्रतिशतले बढेर १७ अर्ब २७ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा फागुन मसान्तमा १५.२ प्रतिशतले बढेर २१ खर्ब ३० अर्ब ३१ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा फागुन मसान्तमा ४४.९ प्रतिशतले बढेर २ खर्ब ७८ अर्ब ९५ करोड कायम भएको छ । फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.७ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८१–८२ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ४२.२ प्रतिशत, ११९.४ प्रतिशत र ३३.० प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।






प्रतिक्रिया दिनुहोस्