Skip to content
Prabhu

अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टन । वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बुधबार बताउनुभएको छ ।

युक्रेनका लागि अति आवश्यक सैन्य सहायतालाई अनुमति दिनेसम्बन्धी विधेयकमा बुधबार हस्ताक्षर गरेपछि उहाँले किएभलाई नयाँ सहयोग पठाउन थाल्ने बताएका हुन् ।

इजरायल र ताइवानका लागि सहयोग र संयुक्त राज्य अमेरिकामा टिकटकमाथि सम्भावित प्रतिबन्ध लगाउने उपायसहित ९५ अर्ब डलरको प्याकेज पारित भएको छ, जुन महिनौंको ढिलाइपछि आएको हो । यसले युक्रेनी सेनालाई गोलाबारुदको अभाव र युद्धभूमिको असफलताको सामना गर्नुपरेको थियो ।

‘मैले यसै साता प्रतिनिधि सभा र सिनेटले पारित गरेको राष्ट्रिय सुरक्षा प्याकेजमा हस्ताक्षर गरेको छु’, बाइडनले भने, ‘यससँगै अबको केही घण्टाभित्रै ढुवानी तत्काल सुरु हुने सुनिश्चित भएको छ ।’

राष्ट्रपति वाइडेनले भने, ‘यसले अमेरिका र सारा विश्वलाई सुरक्षित बनाउनेछ साथै यसले विश्वमा अमेरिकी नेतृत्वलाई निरन्तरता दिनेछ र सबैलाई थाहा छ ।’

‘यसले अमेरिकी साझेदारहरूलाई महत्त्वपूर्ण समर्थन प्रदान गर्दछ ताकि उनीहरूले आफ्नो सार्वभौमिकता र आफ्ना नागरिकहरूको जीवन र स्वतन्त्रताका लागि खतराहरूबाट आफूलाई जोगाउन सकून् ।

रूसले सन् २०२२ को फेब्रुअरीमा आक्रमण गरेको युक्रेनलाई कसरी आफ्नो रक्षा गर्न सकिन्छ भन्ने विषयमा सांसदहरूबीच महिनौँ लामो तिक्ततापूर्ण बहसपछि मात्र यो सहायता विधेयक प्रतिनिधि सभाबाट पारित भएको हो ।

गत फेब्रुअरीमा सिनेटले यस्तै प्रकारको सहायता प्याकेज पारित गरेको थियो, तर रिपब्लिकन सभामुख माइक जोनसनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका कट्टरपन्थी सहयोगीहरूको आह्वानलाई ध्यान दिँदै बाइडेनसँग आप्रवासन नीतिमा छुटको माग गरेका थिए।

संयुक्त राज्य अमेरिका युक्रेनको एक प्रमुख सैन्य समर्थक रहेको छ, तर अमेरिकी कङ्ग्रेसले लगभग डेढ वर्षसम्म किएभको लागि ठूलो मात्रामा अनुदान स्वीकृत गरेको थिएन, र युद्धको वित्तपोषण नोभेम्बरमा हुने राष्ट्रपति चुनावअघि विवादको विषय बनेको छ ।

मस्कोले पूर्वबाट निरन्तर युक्रेनमाथि दबाब दिइरहेको र आगामी हप्ताहरूमा अग्रपङ्तीमा सेनाको अवस्था खराब हुने अपेक्षा गरिएको समय युक्रेनको सेनाले हतियार र भर्तीको लागि बजेटको गम्भीर अभावको सामना गरिरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal