Skip to content
Prabhu

एकल महिला समूहलाई व्यवसाय गर्न ‘बीउ पुँजी’

nabil

इलाम । सूर्योदय नगरपालिका–८, ९ र १० का ३५ जना एकल महिलाका पाँच वटा समूह छन् । एक महिनाअघि गठन भएका ती समूहलाई कोशी प्रदेश सरकारसँगको साझेदारीमा नगरपालिकाले पाँच दिने उद्यमसम्बन्धी तालिम दिएर सामूहिक व्यवसाय गर्न बाटो देखायो । 

बाख्रा पालन, बङ्गुर पालन, पुष्प खेती, ‘टनेल’मा सागसब्जी खेती र ‘ब्युटीपार्लर’ सञ्चालनको चाहना व्यक्त गरेका उनीहरुलाई दुई तहका सरकारले प्रतिएकल महिला ३५ हजार रुपैयाँका दरले बीउ पुँजी उपलब्ध गराएको छ । शुक्रबार एक कार्यक्रमका बीच मूल समिति ‘प्रगतिशील एकल महिला उद्यमशील समूह’ लाई दश लाख ५० हजार रुपैयाँरकम हस्तान्तरण गरिएको नगरप्रमुख रणबहादुर राईले बताए ।

‘एकल महिलालाई व्यवसायमा जोड्न र बचत गर्ने संस्कार विकास गर्न बीउ पुँजी दिएका हौँ’, नगरप्रमुख राईले भने, ‘एकल महिलाहरु समूहमा आबद्ध हुनुहुन्छ । दैनिक वा मासिक बचत सङ्कलन गर्नुहुन्छ । उहाँहरुको इच्छाबमोजिम उद्यमशील तालिम दिएर व्यवसायमा जोड्न बीउ पुँजीको कार्यक्रम ल्याएका हौँ । ’

सूर्योदय–८ मालुमकी प्रमिला थापाले ब्युटीपार्लर सञ्चालन गर्न बीउ पुँजी पाएपछि व्यवसायमा लगानी बढाउने बताइन् । ‘समूहगत रुपमा लगानी वृद्धि गरेर व्यवसायलाई जीवनयापनको माध्ययम बनाउने लक्ष्य छ’, उनले भनिन्, ‘सामान्य तरिकाले पसल गरिरहे पनि लगानी बढाउन नसक्दा व्यावसायिक बन्न सकिएको थिएन । नगरपालिकाबाट तालिम पनि पाएका छौँ । पैसा पनि पाइयो, अब यसैबाट सफल बन्नुछ ।’

तीन वर्षपछि बीउ पुँजीका रुपमा लिइएको ३५ हजार रुपैयाँ भने नगरपालिकालाई फिर्ता गर्नुपर्ने प्रमुख राईले बताए । ‘उक्त रकम तीन वर्षमा नगरपालिकालाई फिर्ता गर्नुपर्ने हुन्छ । सो रकम हामी अन्य एकल महिलालाई हस्तान्तरण गर्दै जान्छौं । बीचमा एकल महिलाले विवाह गरेमा पनि रकम नगरपालिकामा फिर्ता गर्नुपर्छ’, उनले भने, ‘यो रकमले सामूहिक खेती गर्न, व्यवसाय गर्न र नियमित बचत गर्न सहयोग पुर्याउँछ ।’ एकल महिलाले एक्लोपनको महसुस गर्नु नपरोस्, आत्मनिर्भर बन्न सकून् भनेर व्यवसायमा आकर्षित गराइएको उनले बताए । उनका अनुसार पालिकाभरि करिब एक हजार एकल महिला रहेका छन् । छ सयभन्दा बढी एकल महिलाले स्वास्थ्य बिमा भएको छ ।

सामूहिक रुपमा एकताबद्ध हुँदा व्यावसायिक सफलता मिल्ने ठानेर यो अभियान सुरु गरिएको हो । ‘एक घर एक करेसाबारी’ कार्यक्रमअन्तर्गत केही सागसब्जी खेतीमा पनि आबद्ध भएका छन् । नगरपालिकाका चौध वटै वडामा कार्यक्रम पुर्याउने पालिकाको लक्ष्य छ । 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal