Skip to content

नक्कली कम्पनीमार्फत कर छली गरेको आरोपमा इन्डिगोसहितका तीन विमान कम्पनीविरुद्ध २४ अर्बको नोटिस जारी

nabil bank
एजेन्सी । भारतको आयकर विभागले इंडिगोसहित तीन आन्तरिक एयरलाइन्स कम्पनीहरू र तिनसँग सम्बन्धित १५ अन्तर्राष्ट्रिय विमान लीज कम्पनीहरूलाई २४ अर्ब रुपैयाँ बराबरको कर नोटिस पठाएको छ ।
आयकर विभागले भारतमा करबाट जोगिन आयरल्याण्डमा बनाइएका नाम मात्रका शेल कम्पनीहरू मार्फत कर छल गरेको आरोप लगाउँदै इन्डिगोलगायत तीनवटा घरेलु एयरलाइन्स कम्पनीहरू र तिनसँग सम्बन्धित १५ अन्तर्राष्ट्रिय विमान लीज दिने कम्पनीहरूलाई कर नोटिस जारी गरेको हो । यी नोटिसहरू अक्टोबर २०२४ र मार्च २०२५ मा पठाइएका थिए ।
कर छलीको यो मुद्दा आर्थिक वर्ष २०२१–२२ र २०२२–२३ का गतिविधिहरूमा आधारित छ । कर अधिकारीहरूका अनुसार एयरलाइन्स कम्पनीहरूले विमान भाडामा लिनका लागि आयरल्याण्डमा स्पेसल पर्चेज भेहिकल नामक शेल कम्पनीहरू स्थापना गरेका थिए । जसको कुनै वास्तविक कारोबार, कार्यालय वा कर्मचारी थिएन । यी कम्पनीहरूको एक मात्र उद्देश्य भारत–आयरल्याण्डबीचको दोहोरो कर सम्झौताको फाइदा उठाएर भारतमा कर तिर्नबाट बच्नु थियो ।
कम्पनीहरूले भने आयकर विभागको दाबीलाई गलत बताउँदै यसलाई अदालतमा चुनौती दिने बताएका छन् । अर्कोतर्फ, आयरल्याण्ड सरकारले पनि आफ्ना विमान लीज दिने कम्पनीहरूको समर्थन गर्दै तिनीहरूलाई शेल कम्पनी ठहर गर्ने आरोप अस्वीकार गरेको छ । सरकारको भनाइमा ती सबै वैध कम्पनीहरू हुन् ।
अप्रिल २१ को कारोबारमा इन्डिगोको शेयर मूल्य २.३८ प्रतिशतले बढेर प्रतिकित्ता ५ हजार ४९३.५० भारुमा कारोबार भइरहेको छ । पछिल्ला पाँच कारोबारी दिनमा यो शेयरले ६.६७ प्रतिशतको रिटर्न दिएको छ भने गत एक वर्षमा ४७.४० प्रतिशतको वृद्धि भएको छ ।
यसअघि ३० मार्चमा इन्डिगोको पेरेन्ट कम्पनी इंटरग्लोब एभिएसन लाई आयकर विभागले ९४४.२० करोड भारुको जरिवाना आदेश जारी गरेको थियो । कम्पनीले एक्सचेन्ज फाइलिङमा जानकारी दिँदै यो पेनाल्टी २०२१–२२ का लागि इनकम ट्याक्स एक्टको सेक्शन २७० अन्तर्गत लगाइएको बताएको थियो ।
साथै, चेन्नईस्थित संयुक्त आयकर आयुक्तले कम्पनीमाथि थप २.८४ करोड भारु को जरिवाना पनि लगाएका थिए । इन्डिगोले यो पेनाल्टीलाई आधारहीन बताएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime