काठमाडौं । पछिल्लो समय सुनको मूल्य लगातार रूपमा बढिरहेको छ । नेपाली बजारमा चालु आर्थिक वर्षको सुरुदेखि हालसम्मको अवधिमा मात्रै सुनको मूल्य ५० हजारभन्दा धेरैले वृद्धि भएको छ । चालु आवको पहिलो दिन साउन १ गते १ लाख ४७ हजार ८०० रुपैयाँ रहेको सुनको मूल्य वैशाख ९ गते १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेको थियो ।
साउनदेखि वैशाख ९ गतेसम्मको अवधिमा सुनको मूल्य ५० हजार १०० रुपैयाँले वृद्धि भएको छ । साउन १ गतेको मूल्य नेपाली बजारको त्यो समयको ऐतिहासिक मूल्य थियो भने वैशाख ९ गतेको १ लाख ९७ हजार ९०० हालसम्मकै उच्च मूल्य हो । मंगलबार भने सुनको मूल्य १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको मूल्य बढ्ने क्रम हेर्दा ‘दिन दुई गुणा रात चौगुणा’ भन्ने उखानलाई यथार्थता दिइरहेको छ । अहिले बढेको सुनको मूल्य सरकारले सुन आयातमा लगाएको १० प्रतिशत कर घटाउँदाको हो । चालु आर्थिक वर्षको वैशाख ९ गतेसम्मको अवधिमा २८१ दिनमा सुनको मूल्य ५० हजार रुपैयाँले बढेको हो ।
८ वर्षमा १ लाख ३९ हजार बढीले बढ्यो
चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा मात्रै होइन सुनको मूल्य पछिल्लो ८ वर्षको अवधिमा १ लाख ३९ हजारभन्दा बढीले वृद्धि भएको छ । विंस २०७५ साल वैशाख ४ गते ५८ हजार ८०० रुपैयाँ रहेको सुन २०८२ साल वैशाख ९ गतेसम्मको अवधिमा १ लाख ३९ हजार १०० रुपैयाँले बढेको हो । २०७५ सालमा पनि नेपाली बजारमा सुनको मूल्य महँगो नै थियो ।
सुनको मूल्य बढेअनुसार नेपालीहरुको आम्दानी नबढ्दा सुन जहिले पनि महँगो नै हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका निर्वतमान अध्यक्ष माणिकरत्न शाक्यकको भनाइ छ । ‘नेपाली बजारमा सुनको मूल्य ८ हजारको तोलामा कारोबार हुँदा पनि मूल्य बढी नै थियो । अहिले २ लाख पुग्न लाग्दा पनि सुनको मूल्य महँगो नै छ,’ उनले भने ।
आजभन्दा २४ वर्ष पहिले २०५९ साल वैशाख महिनामा सुनको मूल्य ९ हजार ३०० रुपैयाँ तोलामा खरिद बिक्री हुने गरेको थियो । २४ वर्षको अधिमा नेपाली बजारमा सुनको मूल्यमा १ लाख ८८ हजार ६०० रुपैयाँको बढोत्तरी भएको छ । नेपाली बजारमा विदेशमा भन्दा सुनको मूल्य केही महँगो नै हुने व्यवसायीहरुको भनाइ छ । विदेशबाट आयात गरेर ल्याउनुपर्ने सुनमा नेपालको भन्सार थप्दा विदेशको भन्दा यहाँ मूल्य बढी हुने गरेको छ ।
पछिल्लो समय सुनको मूल्य बढ्नुमा अमेरिका र चाइना बीचको व्यापार युद्ध मुख्य काराण रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलले बताए । अमेरिकाले लगाएको भन्सारले बाहेक सुनको मूल्य बढ्नुपर्ने खासै कारण नभएको उनको भनाइ छ । ट्रमले लिएको नीतिका कारण सुनको मूल्य लगातार रुपमा बढी रहेको रसाइलीले बताए । ट्रमले बैंकको ब्याजदर पनि घटाउने हल्लाका बीच सुनमा लगानीकर्ताको आकर्षण देखिएको उनले बताए ।
चालु आर्थिक वर्षको अन्तिमसम्ममा २ लाख पुग्ने अनुमान गरिएको भए पनि त्योभन्दा छिट्टै २ लाख पार हुने अवस्थामा पुगेको उनको भनाइ छ । ‘हामीले चालु आर्थिक वर्षको अन्तिसम्ममा सुनको मूल्य २ लाख पुग्ने अनुमान गरेका थियौं । तर, अहिले त्योभन्दा पहिले नै २ लाखमाथि पुग्ने अवस्था देखिसकियो । यही गतिमा सुनको मूल्य बढेको खण्डमा चालु आवमा नै २ लाख ५० हजार रुपैयाँ पुग्ने देखिन्छ,’ उनले भने । बजारमामा भने सुनको मूल्य ३ लाखको हाराहरीमा पुग्ने आंकलन गरिरहेका छन् । सुनको मूल्य घट्ने सम्भावना पनि त्यतिकै हुने उनको भनाइ छ । चीन र अमेरिका मिलेको खण्डमा सुनको मूल्य घट्न सक्ने उनको भनाइ छ ।
कारोबार न्यून
सुनको मूल्य बढिरहेको अवस्थामा अहिले सुनको कारोबार निकै न्यून रहेको अध्यक्ष रसाइलीको भनाइ छ । विवाहको लगानले गर्दा केही मात्रामा व्यापार भए पनि सुनको कारोबार निकै घटेको उनले जानकारी दिए । अहिले व्यापारीहरुले आफूसँग भएको स्टकबाट नै कारोबार गरिरहेको उनको भनाइ छ । आवश्यकभन्दा कम मात्रै सुनका गहना बनाउने गरिएको उनले बताए । ‘सुनको कारोबार कम भइरहेको छ । पहिला १० तोला बनाउनेहरुले ६ तोलामै चित्त बुझाएको अवस्था छ,’ उनले भने ।
सुन फिर्ता आउने क्रम पनि बढिरहेको महासंघ अध्यक्ष रसाइलीले जानकारी दिए । बैंकबाट सुन नउठेको उनले बताए । ‘कारोबार बढेमा स्टक सन्तुलन गर्ने होइन भने स्टकबाटै बेचौं भन्ने पनि व्यवसायीहरुको भनाइ होला । बैंकबाट सुन नउठेको अवस्था छ,’ रसाइलीले भने । विदेशबाट विवाह गर्न आउनेहरुले उत्तैबाट सुन ल्याएर आउने कारणले पनि सुनको खपत केही कम भएको हुन सक्ने उनको भनाइ छ । अहिले बजार चलाएमा नै रहेको उनले जानकारी दिए ।






प्रतिक्रिया दिनुहोस्