Skip to content

अब फूल आयात होइन निर्यात गर्नुपर्छः वनमन्त्री

nabil
global ime

काठमाडौं । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले फूल तथा नर्सरीका बिरुवाको आयात विस्थापित गर्दै निर्यात प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । नर्सरी व्यवसायी सङ्घले आजदेखि भृकुटीमण्डपमा सुरु गरेको बागवानी प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री साहले फूल निर्यात बढाउनुपर्ने बताएका हुन् । 

उनले जडीबुटी तथा फूल उत्पादनको नेपालमा राम्रो सम्भावना रहेकाले उत्पादन बढाउन सबै अन्तरनिकायको समन्वय आवश्यक रहेको बताए। ‘प्राकृतिक स्रोतको हिसाबले नेपाल धनी मुलुक छ, यहाँको वातावरण हावापानी निकै राम्रो छ, यहाँ धेरै कुरा उत्पादन हुनसक्छ’, उनले भने, ‘विभिन्न वनस्पति, फूलजस्ता बिरुवा नेपालमा उत्पादन हुनसक्छ, हामीले उत्पादन बढाउनुपर्छ । विदेशी फूल किनेर बेच्न थाल्यौं भन्यौं मुलुकको अर्थतन्त्र उकास्न सकिँदैन।’

‘हाम्रा युवा स्वदेशमा रोजगार नपाएर खाडीमा पुगेका छन्, कैयौँ युवा विदेशमा पलायन हुनुभएको छ’, मन्त्री साहले भने, ‘हर्टिकल्चरको प्रवद्र्धनमार्फत स्वदेशमा हजारौँलाई रोजगारीको अवसर दिनुपर्छ, अब बिदेसिने युवा वर्गलाई नेपालमा केही गर्न सकिन्छ भनेर रोक्न सक्नुपर्छ ।’ मन्त्री साहले हर्टिकल्चर खेती प्रवर्द्धनका लागि जग्गा नभएको भन्दै गुनासो आउन थालेकोले वनको जग्गा उपलब्ध गराउन सकिने बताएका छन् । 

‘नर्सरी व्यवसायमा लाग्नुभएका तपाईंहरुले सुन्दर र स्वच्छ वातावरण कायम राख्न गरेको पहलप्रति म आभारी छु, यो व्यवसायका लागि जग्गा छैन, बैंकले ऋण दिँदैन भन्ने गुनासो सुनियो’, मन्त्री साहले भने, ‘तपाईंहरुको गुनासो सम्बोधन गर्न म लागि पर्नेछु, तपाईंहरु आउनुस् छलफल गरेर निष्कर्ष निकालौँ ।’ 

देशभरिबाट फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडीबुटी नर्सरीको सात सयभन्दा बढी प्रजातिका बोटबिरुवा प्रदर्शनी र  बिक्रीका लागि राखिएको आयोजकले जनाएको छ । मेलामा ७४ वटा व्यावसायिक स्टल, चारवटा खाद्य स्टल, सातवटा अफिसियल स्टल तथा प्रतिस्पर्धाको पाँचवटा स्टल गरी जम्मा ९० वटा स्टल छन् । शुक्रबारदेखि आइतबारसम्म बागवानी प्रदर्शनी हुनेछ । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima