Skip to content

सुनाखरी मध्यवर्ती सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित हुँदा व्यवसायी उत्साहित

nabil bank

वीरगञ्ज । पर्साको ठोरीमा गाउँपालिका–५ सुवर्णपुरमा अवस्थित सुनाखरी मध्यवर्ती सामुदायिक घरबास (होमस्टे) मा चालु आर्थिक वर्षमा तीन हजार पाहुनाको आवागमनसँगै होमस्टे सञ्चालन गरेका स्थानीयमा उत्साह बढेको छ । विगतका वर्षमा मधेस प्रदेशकै पहिलो सामुदायिक घरबास पर्याप्त प्रचारप्रसार र ‘ब्रान्डिङ’को अभावले अपेक्षाकृतरुपमा पर्यटकको आवागमन बढ्न नसकेपनि यो चालु आवमा भने पर्यटकको आवागमनमा उल्लेखनीय वृद्धि भएको छ ।

सुनाखरी मध्यवर्ती सामुदायिक घरबासका अध्यक्ष शम्भुराम पौडेलले चालु आर्थिक वर्षको मङ्सिरदेखि फागुनसम्मको तीन महिनाको अवधिमा ६० जनाभन्दा धेरै चलचित्र छायाङ्कनका कलाकार तथा प्राविधिक बसेकाले पनि अघिल्ला वर्षको तुलनामा पर्यटकको आवागमन बढेको जानकारी दिए।

‘‘गत आर्थिक वर्षमा करिब एक हजार आठ सय पाहुना आएको थियो,’ उनले भने, ‘‘यो वर्षको वैशाख तेस्रो सातासम्मको अवधिमा करिब तीन हजारको हाराहारीमा पर्यटक भित्रिनुभएको छ । पर्यटकको आवागमन बढेसँगै यहाँका स्थानीय होमस्टे सञ्चालकहरुमा उत्साह बढिरहेको छ ।’

निर्माता अनुप पौडेलले नेपाली र भोजपुरी भाषामा आधारित ‘इलेफेन्ट इन द फग’ नामक चलचित्र ठोरी गाउँपालिकाको शिकारीबास र आसपासको क्षेत्रमा छायाङ्कन गर्नुभएको थियो । गत आवमा भने यहाँ करिब एक हजार आठ सयको हाराहारीमा पाहुना भित्रिएका थिए ।

यो घरबास २०७३ सालदेखि १५ घरमा सञ्चालन हुँदै आइरहेको छ । वीरगञ्ज महानगरक्षेत्रबाट ३४ किलोमिटरको दूरीमा पर्ने घरबासबाट ठोरीको मनोरम दृश्यका साथै विभिन्न खालका जङ्गली जनावरको अवलोकन गर्नसमेत पाइन्छ । यहाँ बाघमोर्चा माई, गुम्बा, प्रणामी मन्दिर, सहिद स्मारक, सुनाखरी वनलगायतका आकर्षण रहेका छन् ।

यहाँ १५ घरमा अहिले घरबास सञ्चालन भइरहेको छ । एउटा घरबासमा दुई वटा कोठामा पाहुना बस्ने व्यवस्था छ । सुनाखरी उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर पाख्रिनले प्रदेश सरकारले पर्यटकको लागि घुमाउनको अनुदानमा उपलब्ध गराएको सेतो नम्बर प्लेटको सफारी गाडीको कारणले सार्वजनिक बिदाको दिनमा पर्यटकलाई घुमाउनको लागि समस्या परेको गुनासो गरे।

‘‘पटक–पटक मधेश मन्त्रालयमा धाइसक्यौँ । तर, अहिलेसम्म पनि सो समस्या समाधान हुन सकेको छैन ।’ पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सो समस्या समाधानका लागि आवश्यक सहजीकरण गरिदिने प्रतिबद्धता व्यक्त गरे । यहाँका घरबासमा स्थानीयस्तरमा उत्पादन हुने मकैको विशेष परिकार, लोकल कुखुरा र मकैको ढिँडो पनि पाहुनाले रुचाउने गर्छन् । समूहमा पाहुना आउँदा तामाङ समुदायले सांस्कृतिक कार्यक्रम पनि देखाउँदै आइरहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi