काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले मुलुकको अर्थतन्त्र अझै पनि जटिल मोडमा रहेको र बजारमा माग बढ्न नसकेको अवस्थामा आफुहरुले मेला आयोजना गरेर बजारमा सकारात्मक सन्देश दिन खोजेको उनको बताएका छन् ।
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को यो दशौं संस्करणमा यस्तो बताएका हुन्। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रबर्द्धन, र मुलुकको आर्थिक विकासमा मेलाले महत्वपूर्ण योगदान पुरयाउने बताएका छन् ।
‘मेलाले स्वदेशी तथा विदेशी उद्योगी व्यवसायीहरूबीच व्यापारिक सम्बन्ध विस्तार गर्न, लगानी आकर्षित गर्न, र रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने हाम्रो अपेक्षा छ’ वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने ।
नेपालमा अन्तरराष्ट्रिय स्तरको व्यापार मेला आयोजना गर्न उपयुक्त मेला स्थलको अभाव एउटा प्रमुख चुनौतीको रूपमा रहेको उल्लेख गर्दै उनले व्यवस्थित मेला तथा प्रदर्शनी स्थल निर्माण गर्नुपर्नेमा जोड दिए ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले नेपाली वस्तु निर्यात गर्न क्षमता बढाउनुपर्ने बताए । नेपाल, चीन र बंगलादेशका १२० बढि स्टल रहेको मेलामा विभिन्न देशका व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट र छलफलले द्विपक्षीय व्यापार र लगानीका अवसरहरूका बारेमा पनि छलफल हुने महासंघका केन्द्रीय सदस्य तथा मेला समितिका सभापति उमेश डालमियाले जानकारी दिए ।
महासंघले यो मेलालाई वार्षिक क्यालेन्डरको हिस्साको रूपमा लिएर १० औं संस्करणसम्म आइपुगेको छ । अबका दिनमा यसलाई थप परिस्कृत र परिमार्जन गरी अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्रान्डिङ गर्नुपर्ने बताए ।
मेलामा डिजिटल पेमेन्ट पाटनर आइएमइपे, अफिसियल इन्स्योरेन्स, आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स, इन्टरनेट पाटनर भायनेट र सपाटर्सका रुपमा रहेका हेरिटज कार्पेट, साल्ट ट्रेडिङ कर्पोरेशन, चाइना एक्जिविशन एण्ड फोरम कम्पनी लि, गार्मेन्ट एशोसिएयन नेपाल एक्जिविशन लाइट हाउस, इन्ट्रोडक्सन टे«ड सोज नेपाल प्रालि रहेको छ ।
यस्तै मेलामा निःशुल्क प्रवेशको वयवस्था गरिएको महासंघका केन्द्रीय सदस्य तथा मेला समितिका उपसभापति सविन श्रेष्ठले जानकारी दिए । मेलामा नेपाल स्थिति थाइल्याण्ड र इजरायल, युएइका राजदूत अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का देशिय निर्देशक तथा अमेरिका,रुस, पाकिस्तान, बंगलादेशका राजदुतावासका आर्थिक मामिला प्रमुखहरुको समेत सहभागिता रहको थियो ।
सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, व्यापार तथा निकासी प्रबर्द्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा आजबाट शुरु भएको मेला वैशाख २९ गतेसम्म चल्ने छ ।






प्रतिक्रिया दिनुहोस्