एजेन्सी । विश्व बैंकले मंगलबार सार्वजनिक गरेको रिपोर्ट अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिले अन्तर्राष्ट्रिय व्यापारमा ठूलो अवरोध ल्याउँदा र आर्थिक अनिश्चितता बढाउँदा यो वर्ष विश्व अर्थतन्त्र तीव्र रूपमा सुस्तिने प्रक्षेपण गरिएको छ ।
कमजोर बन्दै गएको आर्थिक अवस्थाप्रति विश्व बैंकले चेतावनी दिए पनिमन्दी आउँने आशंका भने छैन । यद्यपि व्यापार तनावका कारण सन् १९६० को दशक यता सबैभन्दा कमजोर आर्थिक वृद्धिको दशक सुरु हुन लागेको देखिएको छ । विश्वका धेरै गरिब क्षेत्रहरूमा आर्थिक विकास लगभग ठप्प छ ।
विश्व बैंकको ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स’ रिपोर्ट अनुसार विश्वव्यापी उत्पादन वृद्धिदर सन् २०२५ मा २.३ प्रतिशतमा झर्ने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको २.८ प्रतिशतबाट घटेको हो । यो जनवरीमा गरिएको २.७ प्रतिशत वृद्धिदरको अनुमानभन्दा पनि कम हो ।
विश्व बैंकका प्रमुख अर्थशास्त्री इन्दरमीत गिलले भने, “आज विश्व अर्थतन्त्र फेरि संकटको सामना गरिरहेको छ । यदि तत्काल सुधार नआएमा जीवनस्तरमा गम्भीर असर पर्नेछ ।”
यस वर्ष अमेरिकाले सबै आयातमा १० प्रतिशत र इस्पात तथा एल्युमिनियममा ५० प्रतिशत भन्सार शुल्क लगाएको छ । साथै, यसले धेरै व्यापार साझेदारहरूमाथि ‘पारस्परिक’ भन्सार शुल्क लगाउने धम्की दिएको छ र चिनियाँ सामानमा १४५ प्रतिशतसम्म शुल्क लगाएको थियो, जुन पछि वार्ता सहज बनाउन केही घटाइएको हो । यी भन्सार शुल्कहरूले अमेरिकाको औसत प्रभावकारी भन्सार दरलाई एक सय वर्षमा सबैभन्दा उच्च स्तरमा पु¥याएका छन् ।
विश्व बैंकले नयाँ आर्थिक पूर्वानुमान सार्वजनिक गर्दा अमेरिका र चीनका अधिकारीहरू लन्डनमा दोस्रो दिनको व्यापार वार्ता गरिरहेका थिए । विश्वका दुई सबैभन्दा ठूलो अर्थतन्त्रहरूले विगत केही महिनामा एकअर्कालाई उच्च प्रविधि र सैन्य प्रयोजनका वस्तुमा निर्यात नियन्त्रण लगाएका छन् ।
गत महिना दुवै देशबीच भएको अस्थायी व्यापार युद्धविराम कमजोर हुँदै गएको देखिन्छ । अहिलेको वार्ताहरू व्यापार तनाव पुनः चर्किनबाट रोक्ने प्रयास हुन् ।
विश्व बैंकको अनुमान अनुसार यदि विश्वव्यापी भन्सार शुल्क आधा घटाइयो भने आगामी दुई वर्षमा आर्थिक वृद्धिदर ०.२ प्रतिशतले बढ्न सक्नेछ । विश्व बैंकले विकासोन्मुख देशहरू, जहाँ भन्सार शुल्क धेरै छ, ती शुल्क घटाएर आर्थिक विकासलाई प्रोत्साहन गर्नुपर्ने सुझाव पनि दिएको छ ।
यो वर्ष विकसित राष्ट्रहरूको तुलनामा विकासोन्मुख र उदीयमान बजारको आर्थिक वृद्धि बढी रहने अपेक्षा गरिएको छ । तर महामारी र त्यसपछिको समयमा भएका आर्थिक क्षतिपूर्तिका लागि कम आम्दानी भएका देशहरूमा वृद्धिदर अझै कमजोर छ ।
विश्व बैंकले जनवरीको अनुमानभन्दा सबैभन्दा ठूलो गिरावट अमेरिकामा देखिएको जनाएको छ । व्यापार युद्ध सुरु गर्ने देश भएकाले यस वर्ष अमेरिकाको आर्थिक वृद्धिदर २.८ प्रतिशतबाट घटेर १.४ प्रतिशतमा झर्ने छ । प्रतिवेदनमा भनिएको छ, “व्यापार अवरोधमा वृद्धि, अनिश्चितता र वित्तीय बजारमा उतार–चढावले निजी उपभोग, अन्तर्राष्ट्रिय व्यापार र लगानीमा असर पार्नेछ । लगानीमा पनि गिरावट आउनसक्छ किनकि अनिश्चितता उच्च छ, वित्तिय लागत बढेको छ र घरेलु तथा बाह्य माग कम भएको छ ।”
चीनको आर्थिक वृद्धिदर २०२४ को ५ प्रतिशतबाट ४.५ प्रतिशतमा घट्ने अनुमान गरिएको छ, जुन पहिलाको पूर्वानुमानअनुरूप छ ।
विश्व बैंकले अमेरिकी भन्सार शुल्कका कारण चीनको निर्यात वृद्धि कम हुने बताएको छ । तर सरकारले गरेका वित्तीय प्रोत्साहनहरूले चीनमा उपभोग र लगानीलाई मद्दत गर्नेछन् ।
व्यापार युद्धले चीनबाट अमेरिका जाने वस्तुहरूको बहावमा ठूलो परिवर्तन ल्याएको छ । विशेषगरी, चीनका निर्यात वस्तुहरूमा ठूलो गिरावट आएको छ । चीनले सोमबार मे महिनामा अमेरिकामा पठाइएका सामान ३४ प्रतिशतभन्दा बढी घटेको बताएको छ । जुन २०२० पछि सबैभन्दा ठूलो गिरावट हो । विशेषज्ञहरूका अनुसार यो गिरावटले चीनलाई लन्डनमा थप व्यापार वार्तामा आउन तयार बनाएको हुनसक्छ ।






प्रतिक्रिया दिनुहोस्