Skip to content

११ महिनामा पुँजीगत खर्च ४० प्रतिशत मात्रै, राजस्व ७१.५९ प्रतिशत संकलन

nabil bank

काठमाडौं । चालु आर्थिक वर्ष सकिन एक महिना मात्रै बाँकी रहँदा सरकारले १ खर्ब ४३ अर्ब ३९ करोड ७ लाख रुपैयाँ पुँजीगत खर्च गरेको छ । जुन लक्ष्यको ४०.७ प्रतिशत हो । सरकारले चालु आवमा ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो ।

यस्तै, वित्तीय व्यवस्थातर्फ २ खर्ब ८७ अर्ब ९७ करोड ३६ लाख खर्च गरेको छ । यो लक्ष्यको ७८.४१ प्रतिशत हो । सरकारले चालु तर्फ ८ खर्ब ५१ अर्ब ७९ करोड ६३ लाख रुपैयाँ खर्च गरेको छ । यो भनेको लक्ष्यको ७४.६८ प्रतिशत हो ।

चालु शीर्षकमा विनियोजन भएको खर्च सरकारको प्रशासनिक, कर्मचारीको तलब भत्ता, सामाजिक सुरक्षा, सार्वजनिक ऋणको ब्याज भुक्तानी, वित्तीय हस्तान्तरण, सरकारले गर्ने विभिन्न सभा सम्मेलन, सरकारले दिने ब्याज अनुदान, विभिन्न मेसिनरी तथा अन्य सार्वजनिक सम्पत्तिको मर्मतमा खर्च हुने गरेको छ ।

यस्तै सरकारले जेठ मसान्तसम्म १० खर्ब ४४ अर्ब ७६ करोड १६ लाख राजस्व संकलन गरेको छ । यो भनेको लक्ष्यको ७१.५९ प्रतिशत हो ।

यस्तै, कर राजस्व शिर्षकमा ९ खर्ब १८ अर्ब १५ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यो भनेको लक्ष्यको ७१.४८ प्रतिशत हो । सरकारले गैरकर तर्फ ९८ अर्ब ८ करोड ३८ लाख अर्थात ७२.६ प्रतिशत राजस्व संकलन गरेको छ ।

अनुदानतर्फ १७ अर्ब ९ करोड १८ लाख र अन्य शिर्षकमा ११ अर्ब ५८ करोड ४५ लाख रुपैयाँ राजस्व संकलन भएको छ । अनुदान लक्ष्यको ३२.६६ प्रतिशत हो ।

सरकारले चालु आवमा १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । यो लक्ष्य पूरा गर्न सरकारले एक महिनाको अवधिमा ३ खर्ब ७४ अर्ब रुपैयाँ संकलन गर्नुपर्छ ।

सरकारले चालु आवमा १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँको बजेट ल्याएको छ । जसमा १२ खर्ब ८३ अर्ब १६ करोड ६ लाख रुपैयाँ खर्च भएको छ भने ५ खर्ब ७७ अर्ब १४ करोड २४ लाख खर्च गर्न बाँकी छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime