Skip to content

कर छली गर्ने कुरियर कम्पनीसहित सात जनाविरुद्ध १ अर्ब ३६ करोड दाबीसहित मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले अनलाइन कारोबार गरेर कर छली गर्ने कुरियर कम्पनीलाई १ अर्ब ३६ करोड ८८ लाख रुपैयाँ माग दाबीसहित मुद्दा दायर गरेको छ।

विभागले आज काठमाडौंको तीनकुनेस्थित ‘नेपाल क्यान मुभ प्रा‍लि‍’ र त्यसका सञ्चालकसहित ६ जनाविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

विभागका अनुसार कम्पनीले नेपाल क्यानमुभ डटकमको सर्भर अस्ट्रेलियामा राखेर नेपालमा कारोबार गरेर कर छलेको पार्ईएको छ ।

विभागले उक्त पोर्टलका सञ्चालकहरू सुदिप आचार्य, जीवन ज्ञवाली, गङ्गाबहादुर थापा, मनिष प्रसाद आचार्य, मिठु पौडेल र कम्पनीका उपकार्यकारी निर्देशक सङ्गम पौडेललाई प्रतिवादी बनाएको छ।

उक्त कम्पनीले पोर्टलको सर्भर अस्ट्रेलियामा राखी सेवा बिक्रीको ठुलो कारोबार आन्तरिक राजस्व विभागमा पेस गरेको भ्याट आय विवरणमा नदेखाएको र बिक्री आय लुकाई छिपाई ठुलो परिमाणमा मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कम्पनीले मूल्य अभिवृद्धि कर र आयकर समेत ७८ करोड २८ लाख ४६ हजार ७६७ रुपैयाँ करयोग्य कारोबार लुकाएको विभागले जनाएको छ, ।

विभागले कर छली भएको कूल बिगो रकम ६८ करोड ४४ लाख ५ हजार ७६० रुपैयाँ कायम गरेको छ । राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार बिगोको शतप्रतिशत जरिवाना अर्थात् ६८ करोड ४४ लाख ५ हजार ७६० रुपैयाँ थप गरी कुल १ अर्ब ३६ करोड ८८ लाख ११ हजार ५२० रुपैयाँ असुलउपर गर्न माग दाबी गरेको छ।

कम्पनीका मुख्य सेयर धनीहरू सुदिप आचार्य र जीवन ज्ञवालीलाई पटक–पटक ताकेता गर्दा पनि उपस्थित नभई फरार रहेको विभागले जनाएको छ। उपकार्यकारी निर्देशक सङ्गम पौडेललाई भने मुख्य कसुरदारलाई सहयोग गरेको भन्दै मतियारका रूपमा आधा सजायको माग गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi