Skip to content

अब कारोबार मूल्यमा भन्सार लिन्छौँ, सन्दर्भ मूल्यको व्यवस्थाबाट बाहिर निस्किन्छौँः अर्थमन्त्री पौडेल

nabil bank

काठमाडौं । सरकारले अब कारोबार मूल्यका आधार भन्सार लगाउने भएको छ ।

राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको बैठकमा भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि सुरु भएको सैद्धान्तिक छलफलमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त कुरा बताएका हुन् ।

‘हामी अब कारोबार मूल्यमा भन्सार लिन्छौँ । सन्दर्भ मूल्यको व्यवस्थाबाट बाहिर निस्किन्छौँ’, अर्थमन्त्री पौडेलले भने, ‘कम मूल्यको बीजक बनाएर हुने राजस्व छली (अन्डर इन्भोइसिङ) जस्ता समस्या समाधान गर्न यो नीतिगत परिवर्तन आवश्यक छ ।’

पौडेलले भन्सार प्रक्रियालाई व्यवस्थित, पारदर्शी तथा उत्तरदायी बनाई अन्तरराष्ट्रिय व्यापारलाई सहज तथा सुरक्षित तुल्याउन नयाँ कानुनको आवश्यकताको महसुस गरिएको बताए ।

भन्सार महासन्धिका प्रावधानहरुलाई कानुनमा व्यवस्था गरी कार्यान्वयन गर्न र स्वदेशी उद्योगको संरक्षण, निकासी प्रवर्द्धन र प्रत्यक्ष वैदेशिक लगानी आकर्षित हुने गरी भन्सारका प्रकियाहरुलाई सरल, प्रभावकारी र प्रविधिमैत्री बनाइनेछ ।

वैध व्यापारको सहजीकरण र अवैध व्यापारको प्रभावकारी नियन्त्रण गर्न भन्सारसम्बन्धी कानुनलाई संशोधन गर्न परेको बताउँदै उहाँले महासन्धिका प्रावधान ऐन नियमहरुबाट तोकिएको समयसीमाभित्र पूरा गर्नुपर्ने भएकाले कानुन संशोधन गर्नुपर्न परेको बताए ।

विधेयकमा केही नयाँ प्रावधान र केही विषय सशोधन गरिएको जानकारी दिँदै अर्थमन्त्री पौडेलले भन्सार प्रमुख र भन्सार अधिकृतको काम कर्तव्य र अधिकार समेटिएको छ ।

जाँच पास नगरिएको बस्तु ढुवानी गर्न नहुने तथा प्रशासकीय पुनरावलोकन समेत गरिएको छ । यसअघि उक्त विधेयक प्रतिनिधिसभा अर्थ समितिमा छलफल भई सुझाव र सन्देशसहित राष्ट्रियसभामा पठाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime