काठमाडौं । नेपाल र भारतबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित नेपाल–भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (निक्की) र फेडेरेसन अफ इन्डियन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (फिक्की) ले आपसी व्यापार, लगानी तथा सीमापार ब्यापार प्रवद्र्धन गर्न सम्झौता गरेको छ ।
निक्कीका अध्यक्ष सुनिल केसी र फिक्कीकी महाप्रबन्धक ज्योति विजले नयाँ दिल्लीमा आयोजित कार्यक्रममा हस्ताक्षर गरेका छन् । दुबै संस्थाले व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान, गैर–गोप्य सूचनाको साझेदारी र संयुक्त प्रवद्र्धनात्मक कार्यक्रमहरूको आयोजना गर्नेछन् ।
समझदारी अनुसार निक्की नेपालका लागि फिक्कीको विशेष साझेदारका रूपमा रहनेछ भने फिक्की भारतका लागि निक्कीको विशेष साझेदार रहनेछ । समझदारीमा दुवै पक्षले व्यापार र लगानी सम्बन्धी विविध प्रकाशन र तथ्याङ्कहरु नियमित रूपमा आदानप्रदान गर्ने पनि उल्लेख छ ।
‘हामी प्रत्येक वर्ष कम्तीमा एउटा प्रमुख संयुक्त कार्यक्रम आयोजना गर्नेछौं र नेपाल तथा भारतका व्यवसायीहरूबीच प्रतिनिधिमण्डलको आदानप्रदानलाई सहयोग गर्नेछौं’ निक्की अध्यक्ष सुनिल केसीले भने, ‘हाम्रो साझेदारीले संयुक्त अध्ययन, बजार सर्वेक्षण तथा आर्थिक बिकास एवं चासोका नयाँ क्षेत्र पहिचान गर्न प्रकाशन आदानप्रदान समेत समेट्नेछ ।’
फिक्कीकी महानिर्देशक ज्योति विजले पनि आर्थिक सम्बन्धलाई सुदृढ बनाउने दुवै संस्थाको साझा जिम्मेवारी रहेको बताइन् । ‘हामी आ-आफ्नो देशका प्रमुख व्यवसायिक संस्थाका रूपमा भारत र नेपालबीचको व्यापार तथा लगानी सम्बन्ध बलियो बनाउने प्रतिबद्धताका साथ अघि बढिरहेका छौं’ उनले भनिन् ।
१९२७ मा महात्मा गान्धीको सल्लाहमा स्थापना गरिएको फिक्की भारतको एक पुरानो र प्रभावशाली व्यापार संगठन हो । नयाँ दिल्लीमा मुख्यालय रहेको यस संस्थामा सार्वजनिक तथा निजी क्षेत्रका २ लाख ५० हजार भन्दा बढी कम्पनीहरू आवद्ध छन् । नीति सुधार, आर्थिक वृद्धि, नवप्रवर्तन र लगानी प्रवद्र्धनमा यसले अग्रणी भूमिका खेल्दै आएको छ ।
त्यसैगरी, सन् १९९३ मा प्रभाकर एसजेबी राणाद्वारा स्थापना गरिएको निक्की एक द्विदेशीय, गैर–नाफामूलक व्यवसायिक संस्था हो । यसले नेपाल-भारतबीच व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई प्रवद्र्धन गर्दै आएको छ । यो संस्था दुवै देशका व्यवसायी र संस्थाहरूबीच पुलको रुपमा काम गर्दै, रणनीतिक साझेदारी, बजार विश्लेषण, नीतिगत संवाद र ऊर्जा, पर्यटन, पूर्वाधार तथा उद्योग क्षेत्रमा सहकार्यको प्लेटफर्म प्रदान गर्दछ । नेपालस्थित भारतका राजदूत निक्कीका संरक्षक हुन् । हाल निक्कीका संरक्षकको रुपमा राजदूत नवीन श्रीवास्तव छन् ।
यो सम्झौताले दुई दक्षिण एशियाली छिमेकी देशबीचको लामो समय देखिको आर्थिक अन्तरनिर्भरतालाई औपचारिक बनाएको छ । दुवै संगठनले सीमापार कारोबारमा भइरहेका चुनौतीहरू समाधान गर्दै नयाँ सम्भावनाहरूको उपयोग गर्न नजिकबाट सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । निक्कीका सदस्यहरूले नेपालको व्यापार र अर्थतन्त्र विस्तारका लागि फिक्कीका सबै स्रोत र नेटवर्कको प्रयोग गर्न सक्नेछन् ।
सम्झौताअनुसार दुवै चेम्बरहरूले नेपाल र भारतबाहेक बीबीआइएन र बिमस्टेक क्षेत्रका सहकार्यमा समेत काम गर्नेछन् । ‘हाम्रो साझेदारी केवल द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्धमै सीमित छैन, यो त्यसभन्दा टाढासम्म फैलिएको छ’, निक्कीका अध्यक्ष केसीले बताए ।
उनले थपे, ‘हामी अब निक्की–फिक्की ट्रर्याक १.५ पहल सुरु गर्दैछौं, जसमा दुवै संस्था तथा सरकारका प्रतिनिधिहरूको सहभागिता रहनेछ । यस पहलले लगानी प्रवद्र्धन गर्ने र हाल नेपालमा बढेको लगानीको आकांक्षालाई पूर्ति गर्न मद्दत गर्नेछ ।’






प्रतिक्रिया दिनुहोस्