काठमाडौं । नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६९ प्रतिशत पुगेको छ । तेस्रो पटक थपिएको म्याद सकिनै लाग्दा निर्माणको भौतिक प्रगति ६९ प्रतिशत पुगेको नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले बताए ।
नारायणगढ–बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम सुरु गरेको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गतेसम्मका लागि दोस्रो पटक म्याद थप भएको थियो । यस अवधिमा समेत काम सम्पन्न नभएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रो पटक म्याद थप गरिएको थियो । यस अवधिको अन्त्यमा आइपुग्दा ६९ प्रतिशत काम सकिएको हो ।
यस आयोजनामा चौथो पटक म्याद थपको प्रक्रिया अघि बढाइएको छ । नारायणगढ–बुटवल सडकको कूल ११३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो । निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले ५७६ दिन थप म्याद थपका लागि माग गरेको छ ।
नारायगण–बुटवल सडकखण्डअन्तर्गत दुम्कीबासको विनयी खोलामा रहेको पुल भाँचिएपछि डाइभर्सनबाट यातायात सञ्चालन गरिँदै आएको छ । गत पुसमा पुल भाँचिएपछि डाइभर्सनबाट यातायात वारपार गराइँदै आइएको छ । पटक पटक वर्षासँगै आएको बाढीका कारण डाइभर्सन बगाउँदा चालक तथा यात्रुले सास्ती खेप्दै आएका छन् ।
आयोजनाले भाँचिएको पुल छेउमा नयाँ पुल निर्माण गरेको छ । पुलमा मौसमले साथ दिएमा बुधबार कालोपत्र गरिने र ढिलोमा आउँदो शनिबार सञ्चालन गर्ने योजना तयारी रहेको श्रोतले बतायो । नयाँ पुल सञ्चालनमा आएमा डाइभर्सनका कारण सास्ती खेप्दै आएका चालक तथा यात्रुलाई सहजता मिल्ने छ ।






प्रतिक्रिया दिनुहोस्