Skip to content
Prabhu

हरेक पालिकामा औद्योगिक ग्राम बनाउने सरकारको नीति छः मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले हरेक पालिकामा एउटा औद्योगिक ग्राम विकास गर्ने वर्तमान सरकारको नीति रहेको बताएका छन् ।

अछामको कमलबजार नगरपालिका–६ स्थित कातइत्यानी हात्तीबास शैक्षिक एवम् ज्ञानविज्ञान धार्मिक महामहोत्सवको आज उद्घाटन गर्दै उनले तीनै तहका सरकारको समन्वयमा उत्पादनको वर्गीकरण गरेर औद्योगिक ग्राम बनाइने बताए । सरकारले उत्पादन र रोजगारीवृद्धि गर्ने नीति अख्तियार गरेको उल्लेख गर्दै उनले उद्योग मन्त्रालयले उद्यमशीलतामा जोड दिएको बताए । मन्त्री भण्डारीले नेपालमा रहेका थुप्रै खनिज तथा खानी उत्खनन गर्न मन्त्रालयले नीतिगत सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको समेत बताए ।
त्यसैगरी चालु आवमा पुँजीगत बजेट खर्च बढाउन नसक्दा त्यसले मुलुकलाई समृद्धिको लक्ष्यमा अगाडि बढाउन केही समस्या भएको उनको भनाइ थियो । ‘विविध कारणले पुँजीगत खर्च बढाउन सकिएको छैन । त्यसले समृद्धिको यात्रामा असर गरेको हामीले महसुस गरेका छौँ’, मन्त्री भण्डारीले भने, ‘आगामी दिनमा थप सुधार हुने अपेक्षासहित हामीले काम गरिरहेका छौँ ।’

सरकार न्यूनतम साझा कार्यक्रमको भावनाअनुसार अगाडि बढिरहेकाले पछिल्लो सयम आर्थिक वृद्धिदरमा केही सकारात्मक सफलता देखापरेको पनि उनको भनाइ छ । आगामी आर्थिक वर्षलाई सम्भावनाको वर्षका रूमा अगाडि बढाउन सरकारले निराशा चिरेर आशा जगाउने काम गर्ने र नेपाली माटोमै सम्भावनाको खोजी गर्नेसमेत उहाँले बताए।

उनले भने, ‘तीन तहका सरकारको समन्वयमा स्वदेशी उत्पादनलाई जोड दिनुपर्छ र स्वदेशी वस्तु उपभोग गर्ने नीति अगाडि सार्नुपर्छ भन्नेमा काम भइरहेकाले सोसम्बन्धी नीति चाँडै ल्याउने छौँ ।’

मन्त्री भण्डारीले सुन्दरता र सम्भावनाले भरिपूर्ण सांस्कृतिक जिल्ला अछामको विकासमा उद्योग मन्त्रालयले विशेष ध्यान दिने पनि बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal