काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ऋण तिर्नु नपर्ने भन्दै अभियान चलाउने चर्चा बटुलेका व्यवसायी दुर्गा प्रसाईँले सञ्चालन गरेको ‘बी एन्ड सी’ अस्पतालले अल्पकालीन तथा दीर्घकालीन ऋणको रेटिङ गराएको छ । प्रसाईँको अस्पतालले २ अर्ब ७० करोड १२ लाख रुपैयाँको अल्पकालीन तथा दीर्घकालीन ऋण रेटिङ गराएको हो ।
यस अस्पतालले अल्पकालीनतर्फ १० करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । कम्पनीको अत्पकालीन ऋणलाई ‘केयर–एनपी एफोर’ रेटिङ दिएको छ । यस रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै तिर्ने क्षमतामा न्यूनतम स्तरको सुरक्षा रहेको मानिन्छ । कम्पनीको यस्तो ऋणले ‘उच्च क्रेडिट जोखिम’ रहन्छ र डिफल्ट (तोकिएको समयमै भुक्तानी गर्न नसक्ने अवस्था) को सम्भावना बढी हुने रहेको जनाउँछ।
यसैगरी, यस अस्पतालले दीर्घकालीनतर्फ २ अर्ब ६० करोड १२ लाख रुपैयाँ ऋणको रेटिङ गराएको हो । यस अस्पतालको दीर्घकालीन ऋणलाई रेटिङ एजेन्सी केयर नेपालले ‘केयर–एनपी डबल बी माइनस’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्वहरू समयमै भुक्तानी गर्न सक्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ।
यस अस्पतालले दुई वर्ष अगाडि गरेको व्यापारको तथ्यांक देखाउँदै ऋणको रेटिङ गराएको छ । अस्पतालले सन् २०२२ को अन्यमा १ अर्ब १९ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यस अस्पतालको व्यापार सन् २०२१ को तुलनामा बढेको छ । सन् २०२१ मा यसले ८१ करोड ४० लाख रुपैयाँ व्यापार गरेको थियो । सन् २०२० मा यसले ५३ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
दुर्गा प्रसाईँले यो अस्पताल २०११ मा स्थापना गरेका हुन् । यो अस्पताल झापा जिल्लामा स्थापना भएको छ । बी एन्ड सी अस्पतालमा चार सदस्यीय सञ्चालक समिति रहेका छ । यस अस्पतालको अध्यक्षमा इन्दिरा गिरी रहेकी छिन । यस अस्पतालको कार्यकारी निर्देशक दुर्गा प्रसाईँ कार्यकारी रहेको छन् । यसैगरी, प्रबन्ध निर्देशकमा डा. रामबाबु गिरी छन् । यस अस्पतालमा सन् २०२२ डिसेम्बर १ सम्म ६१५ जना कर्मचारी कार्यरत छन् । जसमध्ये ४६६ जना मेडिकल स्टाफ रहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्