काठमाडौं । नेपालस्थित विभिन्न मुलुकका अवैतनिक महावाणिज्यदूत तथा वाणिज्य दूतहरूको संस्था अवैतनिक कन्सुलर कोर–नेपाल (एचसीसीएन) को नेतृत्व नेपालका लागि बुल्गेरिया अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले सम्हालेका छन् ।
काठमाडौंमा हालै सम्पन्न एचसीसीएनको १८ औँ साधारणसभाले प्रेसिडेन्ट ग्रुप अफ कम्पनीका अध्यक्षसमेत रहेका थापालाई अर्को कार्यकालका लागि डीन चयन गरेको हो । थापाले सन् २०२५–२६ अवधिका लागि एचसीसीएनको नेतृत्व सम्हाल्ने छन् । एचसीसीएनको निवर्तमान डीनमा इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकाल रहेका छन् भने भाइस डिनमा फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत सुरज वैद्य, कोषाध्यक्षमा रोमानियाका अवैतनिक महावाणिज्यदूत नारायण बजाज रहेका छन् ।
एचसीसीएन कार्यकारिणी समिति सदस्यहरूमा स्लोभाक रिपब्लिकका अवैतनिक वाणिज्य दूत पासाङ दावा शेर्पा, भियतनामका अवैतनिक वाणिज्य दूत राजेशकाजी श्रेष्ठ, इटालीका अवैतनिक महावाणिज्यदूत प्रतिमा राणा पाण्डे, हंगेरीका अवैतनिक महावाणिज्यदूत अरुण चौधरी र पेरुका अवैतनिक वाणिज्य दूत सुमति कुमार अग्रवाल निर्वाचित भएका छन् ।
एचसीसीएन कार्यकारिणी समितिमा आइसल्यान्डका अवैतनिक वाणिज्य दूत विदुषी राणा आमन्त्रित सदस्य रहेको घोषणा गरिएको छ । नवनिर्वाचित डीन थापाले आगामी वर्षका लागि आफ्ना कार्य योजनाहरू प्रस्तुत गर्दै आर्थिक कूटनीतिका संवाहक वाणिज्य दूतहरूको भूमिका थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आगामी वर्षका लागि आफ्ना कार्य योजनाहरू प्रस्तुत गर्दै थापाले नेपाल सरकार र सम्बन्धित मुलुकसँग सहकार्य गरेर अघि बढ्ने जनाए । साधारणसभामा परराष्ट्र मन्त्री डा. आरजु राणा, आर्थिक कुटनीति विषयका मुख्य टिप्पणीकार पूर्व परराष्ट्र सचिव एवं पूर्व राजदूत ज्ञानचन्द्र आचार्य निवर्तमान डीन चन्द्रप्रसाद ढकाललगायत सन् २०२४-२०२५ का लागि कार्यकारी समितिका सदस्यहरूले पुर्याएको योगदानको लागि उनले धन्यवाद दिएका थिए ।






प्रतिक्रिया दिनुहोस्