Skip to content
Prabhu

विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’

ललितपुर । ललितपुर महानगरपालिकालगायत विभिन्न चार स्थानीय तहका प्रमुखहरूले विपद् व्यवस्थापन र प्रतिकार्य योजनामा सहकार्यका साथ अगाडि बढ्नुपर्ने बताएका छन् । ललितपुर महानगरपालिकासहित कैलालीको धनगढी उपमहानगरपालिका, डडेल्धुराको अमरगढी नगरपालिका र बझाङको जयपृथ्वी नगरपालिका प्रमुखहरूले त्यस्तो बताएका हुन् ।

सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा सुपर परियोजनाको समन्वयमा आज यहाँ आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय तहको जिम्मेवारी, भूमिका र पहलकदमीसम्बन्धी कार्यक्रममा उहाँहरूले त्यस्तो बताएका हुन् ।

कार्यक्रममा ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन महानगरले हरसम्भव प्रयास गरिरहेको बताएका छन् । उनले विपद्को समयमा खोज, राहत तथा उद्दार कार्यमा सूचना पाएको चार मिनेटमा आकस्मिक विपद् प्रतिकार्यगर्ने नीतिका साथ महानगरले काम गरिरहेको बताए । महर्जनले सङ्घीय सरकार र प्रदेश सरकारले विपद् प्रतिकार्य अभ्यासमा पर्याप्त ध्यान दिन नसकेको अवस्थामा महानगरले आफ्नो जिल्ला र उपत्यकाका छिमेकी स्थानीय तहहरुसँग सहकार्य गरेर यसकार्यलाई थप प्रभावकारी बनाउँदै लैजाने बताए । “विपद व्यवस्थापनका काममा कहिल्यै सन्तुष्ट हुन सकिँदैन तथापि महानगरले विपद्का समयमा जनशक्तिका साथै नयाँ प्रविधिको प्रयोग पनि आवश्यक हुँदोरहेछ भन्ने ध्येयले आवश्यक काम गरिरहेको छ । अहिले हामीले एउटै छानामुनि विपद् व्यवस्थापनका लागि आवश्यक सबै व्यवस्था गरेका छौँ र विपद् व्यवस्थापनमा दमकलसँगै एम्बुलेन्स खटाउने नीति पनि लागूगरिसकेका छौँ’,महर्जनले भने ।

विपद्मा परेकाहरूको सहयोग गर्नेमात्र नभई त्यस्ता कार्यमा खटिने कर्मचारीलाई पनि सुरक्षित राख्नुपर्ने आवश्यकता औँल्याउँदै महानगरले भूकम्पको जोखिमबाट बच्ने र उद्धार गर्ने विषयमा कर्मचारीलाई तालिम दिइसकेको र यस्ता कार्यमासुरक्षा निकायलगायत संघसंस्थाबाट सहयोगप्राप्त भइरहेको जानकारी गराए ।

कार्यक्रममा कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले विपद् व्यवस्थापनका विषयमा ललितपुर महानगरबाट धेरै कुरा सिकेर आफ्नो पालिकामा पनि लागूगर्न सफलभएको बताउनुभयो । नगरप्रमुख हमालले ललितपुर महानगरबाट फोहर व्यवस्थापनदेखि विपद् व्यवस्थापनका क्षेत्रमा आफूले धेरै सिक्ने अवसर पाएको बताए । ‘अरु पालिकामा जाँदा भव्य स्वागत त गर्नुहुन्छ तर आफ्ना असल अभ्यासबारे हामीलाई सिकाउँदैनन् । त्यसैले अरुले लुकाउँछन् तर ललितपुरले हामीलाई धेरै सिकाएको छ । त्यसमा पनि महानगर प्रमुखले हामीले यस्तो काम गरिरहेका छौँ तपाईहरूले पनि लागूगर्दा राम्रै होला भनेर सुझाव दिनुहुन्छ । यसले हामीलाई सहज भएको छ’, हमालले भने ।
फोहरमैला र विपद् व्यवस्थापनका लागि आफ्नो नगरपालिकाले विद्यालयतह र समुदायस्तरमा सचेतनाका काम अगाडि बढाउँदा काम गर्न सहज भएको बताए । उनले धनगढीमा प्लास्टिक बन्देज गरेको डेढवर्ष भइसकेको र सूर्तीजन्य पदार्थको नियमन पनि भइरहेको जानकारी गराए ।

यस्तै, डडेल्धुराको अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीले स्थानीय तह अधिकारका हिसाबले सम्पन्न भए पनि आर्थिक स्रोतको अभावमा धेरै काम गर्न नसकिएको बताए । उनले भूकम्पलगायत विपद् जोखिम न्यूनीकरणका लागि नगरले सचेतना अभिवृद्धिका काममा जोड दिइरहेको बताए । ‘सुदूरपश्चिम भौगोलिक दृष्टिले भूकम्पको जोखिममा छ । पहाडी जिल्लामा मानवीय त्रुटिका कारण पनि बढी जोखिम छ । अहिले हामीले जोखिम न्यूनीकरणका लागि जनचेतना जगाउने कार्य गरिरहेका छौँ अब यहाँबाट सिकेका कुरालाई लागूगर्ने प्रयासमा लाग्ने छौँ’, जोशीले भने ।

बझाङको जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बरालले जिल्ला नै भूकम्प र बाढीको उच्च जोखिममा रहेकाले जतिबेला पनि जोखिममा पर्ने अवस्था रहेकाले सोहीअनुसार नगरले योजना बनाइरहेको बताए । ‘विपद्का लागि भर्खरै ऐन पारित गरेका छौँ, त्यसको कार्यान्वयनका लागि धेरै काम गर्न बाँकी छ । राष्ट्रिय मापदण्डलाई आधार मानेर भवन निर्माणसंहिता लागूगर्ने तयारीमा छौँ,’ बरालले योजना सुनाए ।

ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले विपद् व्यवस्थापनमा ललितपुर महानगरले अन्तर्राष्ट्रिय अभ्यासहरूलाई प्रयोग गर्ने प्रयास गरिरहेको बताए । ‘मन्त्रालयको प्रतिनिधिसहित तीनवटा पालिकाको भ्रमणले सिकाइ र असल अभ्यासको साटासाट गर्ने अवसर मिलेको छ । भूकम्पीय जोखिम रहेको जापानको अभ्यासबाट नागरिकलाई सचेत गराउनुपर्छ भन्ने अनुभूत गर्दै यहाँ पनि विपद् प्रतिकार्यको अभ्यासबारे सिकाउने प्रयास गरिएको छ’, शाक्यको भनाइ थियो । उनले प्राकृतिक विपत्ति र मानवनिर्मित विपत्तिबाट बच्न कोष खडा गर्ने र विपदजन्य समस्या समाधानलाई प्राथमिकतामा राखेर काम भइरहेको उल्लेख गरे ।

सुदूरपश्चिम प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सुशील बैद्यले समुदाय र विद्यालयस्तरमा सचेतना अभियानलाई केन्द्रमा राखेर मन्त्रालयले आवश्यक कार्य गरिरहेको बताए । पछिल्लो समय प्रदेशस्तरमा विपद् व्यवस्थापन प्राधिकरण चाहिन्छ कि भन्ने बहस पनि चलिरहेको उनले जानकारी दिए ।

त्यसअवसरमा भूकम्प प्रविधि राष्ट्रिय समाज (नसेट) का कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले महानगरपालिकाको प्रयास र अभ्यास राम्रो रहेको भन्दै विपद्का समयमा तालिमप्राप्त जनशक्तिका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याए। उनले विपद् प्रतिकार्यका लागि विकेन्द्रीकृत सेवा प्रवाहको कार्यनीति आवश्यक रहेकामा समेत जोड दिए ।

कार्यक्रममा धनगढी उपमहानगरपालिका, अमरगढी नगरपालिका डडेल्धुरा र जयपृथ्वी नगरपालिका बझाङका नगरप्रमुख र विपद् सम्पर्क व्यक्ति, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक विकास मन्त्रालयका सचिव र सम्बन्धित मन्त्रालयका विपद् सम्पर्क व्यक्तिको उपस्थिति रहेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal