Skip to content
Prabhu

बेकरीबाट मासिक २ लाख आम्दानी गर्दै धरानका दुई युवक

सुनसरी । ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई पौरखी युवकले बेकरी उद्योग सञ्चालन त्यसलाई असत्य साबित गरेका छन् ।

८ वर्षको वैदेशिक रोजगारीपछि फर्कनुभएका धरानका एनसी राई र वीरेन्द्र थापाले यहाँ लाखौंको लगनीमा बेकरी उद्योग सञ्चालन गरेका छन् । उनीहरूले १० लाख रुपैयाँ लगानीमा धरान उपमहानगरपालिका–१२ को अमान बजारमा बिस्कुट फ्याक्ट्री खोलेको उद्योग अहिले कोशी प्रदेशमा दोस्रो ‘लाइभ बेकरी’का रूपमा ब्रदर्श बेकरी स्थापित भएको उद्यमीहरू बताउँछन् ।

धरान उपमहानगरपालिका–९ गौतम पथ र धरान–१७ रेल्वे लाइनमा गरी दुइटा शाखा सञ्चालन गरिरहेका छन् । उनीहरुले केक, आइसक्रिम, चकलेट, पाउरोटीलगायत सबै किसिमका बेकरीको व्यापार गर्दै आएका छन् । उद्योगमा आठजनालाई रोजगारी पनि दिएका छन् । कामदारलाई मासिक ८ देखि ३० हजार रुपैयाँसम्म तलब दिँदै आएका छन् । उनीहरूले आफ्नो परिवारका लागि खर्चसमेत यसैबाट पुर्याउँदै आएका छन्।

उद्यमी एनसीले आफ्नो पुख्यौली घर भोजपुरको हसनपुरबाट रोजगारीको सिलसिलामा विदेशमा लामो समय बिताएर स्वदेश फर्किएपछि व्यवसाय सुरु गरेका हुन् । उनी व्यवसायसँगै सामाजिक संघसंस्थामा पनि आबद्ध भएर काम गरिरहेका छन् । हसनपुर– सुनसरी सम्पर्क मञ्च नेपालको सल्लाहकार, लायन्स क्लब धरानका क्यापेवल ट्रेजर, आशिष बचत तथा ऋण सहकारीको सञ्चालक समिति सदस्य, लड्स होम नेपालको बोर्ड समिति सदस्यसमेत हुनुहुन्छ भने भक्तपुरका वीरेन्द्र थापा धरानमा विगत २१ वर्षदेखि बेकरी सेफका रुपमा काम गर्दै आएका छन् ।

एक समय पाउरोटी, बिस्कुट मोटरसाइकलमा लिएर सिँधुवासम्म पुग्नुपर्थ्यो तर अहिले धनकुटा, भोजपुर, पाँचथर, इटहरी, दमक, झापालगायत विदेशबाट पनि धरानेहरूले केक माग गरिरहेका राईले बताए। धरानमा शाखा सञ्चालनमा आएपछि उद्योगको प्रारम्भमा केक काट्ने र उत्सव मनाउने माहोल नै बनेको व्यापारी एनसी राई सुनाए। अहिले धरानमा मात्र नभएर धरान बाहिरका बेकरीका ग्राहकका लागि पनि आकर्षक बनेको छ– ब्रदर्श बेकरी ।

दसैँ, तिहार र क्रिसमसमा ५० प्रतिशत छुट र ६० वर्षभन्दा माथिकालाई सित्तैमा केक वितरण गर्दै आएको राईले बताए । उनीहरूले ब्रदर्श बेकरीका तर्फबाट तालिम पनि दिँदै आएका वीरेन्द्र थापाले बताए । उनीहरूसँग तालिम लिएर गएका भोजपुर, चक्रघट्टी, इटहरीलगायत धेरै स्थानका युवाले आफैँ बेकरी सञ्चालन गरिरहेका थापा बताए।

लामो समयको वैदेशिक रोजगारीबाट फर्केपछि बेकरीको सीप भएका वीरेन्द्रसँग भेट भएपछि काम थालेको राई बताए । अहिले आफ्नै ठाउँमा आठ–दश जनालाई रोजगारीको अवसर प्रदान गर्न पाएकामा उनीहरू खुसी छन् ।

धरानमा दुइटा शाखा सञ्चालनमा छन् भने धरानभरि जम्मा १७ वटा एसोसिएट डिलरसमेत सञ्चालनमा छन् । उनीहरूले सञ्चालन गर्दै आएको ब्रदर्स बेकरी उद्योगबाट आफ्नो सबै खर्च कटाएर मासिक दुईदेखि दुई लाख ५० हजार रुपैयाँसम्म बचत हुने गरेको बताए ।

ब्रदर्स बेकरी अहिले सीप सिक्न चाहनेका लागि उपयुक्त थलो बनेको छ । उद्यमी राई भने, ‘मेहनत आवश्यक छ, देशमा अवसर छैन भन्न मिल्दैन । विदेश पलायन हुनुभन्दा आफ्नै ठाउँमा मेहनत गर्दा प्रतिफल प्राप्त हुन्छ ।’

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal