काडमाडौं । सुनको मूल्य एक वर्षमा ५० हजार रुपैयाँको हाराहारीमा बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार गत वर्ष (२०८१) साउन २३ गते १ लाख ४६ हजार ३०० रुपैयाँ रहेको सुनको मूल्य २०८२ को साउन २३ गतेसम्म आउँदा ४९ हजार ६०० सय रुपैयाँले बढेर १ लाख ९९ हजार ४०० सय रुपैयाँ पुगेको छ ।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशमा कर थप गरिरहेका छन् । उनले आफू राष्ट्रपति भएदेखि नै विभिन्न देशमा कर बढाउनेदेखि कर बढाउने धम्की पनि दिँदै आएका छन् । यसले विश्वव्यापी बजारलाई अस्थिर बनाएको छ। जसको कारण कारण धेरै देशका मुद्रा कमजोर हुन पुगेका छन्।
नेपालमा सुन–चाँदीको मूल्य निर्धारण अन्तर्राष्ट्रिय बजारअनुसार निर्धारण हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन–चाँदीको मूल्य वृद्धि भएको खण्डमा नेपालमा पनि यसको मूल्य बढ्छ । अन्य देशमा घटेमा नेपालमा पनि यसको मूल्य घट्ने गरेको पाइन्छ ।
ट्रम्पले केही दिन अगाडी भारतसँगको व्यापार सम्झौतासम्बन्धी वार्ता पनि ठप्प पारेका छन् । भारतले रुसी क्रुड तेलको निरन्तर खरिदलाई कारण देखाउँदै उनी भारतप्रति चिढिएका छन् । ट्रम्पले भारतसँगको व्यापारमा २५ प्रतिशत कर लागु गरेका छन् । जसको कारण दुई अर्थतन्त्रबिचको व्यापार तनाव बढेको छ । यसको असर सुन–चाँदीको मूल्यमा देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
यसैगरी, एक वर्षमा चाँदीको मूल्य पनि भारी अंकले बढेको छ । गत वर्षको साउनमा एक हजार ७१० रुपैयाँ रहेको चाँदीको मूल्य यस वर्षको साउन २३ गतेसम्म आउँदा ५६५ रुपैयाँले बढेर दुई हजार ३२५ रुपैयाँ पुगेको छ ।
यसैगरी, केही समय अगाडि ट्रम्पले २५ प्रतिशत स्टिल र एल्युमिनियमको आयातमा कर लगाउने घोषणा गरेका थिए । घोषणा लगत्तैका दिनमा सुनको मूल्य आकस्मिक रूपमा बढिरहेको छ। ट्रम्पका आर्थिक निर्णय र अभिव्यक्तिपछि सुनको मूल्य एक वर्षमा नै नयाँ उचाइमा पुगेको छ।
यसैगरी, पछिल्लो केही समय यता विश्वका विभिन्न देशमा युद्धहरू पनि भइरहेका छन् । जस्तै रसिया–युक्रेन युद्ध, इजरायल हमास युद्ध लगायतका युद्धको कारण पनि मानीहरूमा तेस्रो विश्व युद्ध हुने हो की भन्ने त्रास पैदा भएको छ । जसको कारण मानिसले सुरक्षित लगानी गर्ने ठाउँ खोजिरहेका छन् । सुनलाई सुरक्षित लगानीको रूपमा लिने गरिन्छ । जसको कारण यस्तो मूल्यले नयाँ रेकर्ड कायम गर्दै गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले खुलाएका छन् ।
शुक्रवार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ। पछिल्लो केही वर्षयता अमेरिकाको निक्षेपको ब्याजदर पनि घट्दो अवस्थामा रहेको छ । २०२३ को अगस्टमा ५.५ प्रतिशत रहेको अमेरिकाको निक्षेपको ब्याजदर २०२५ जुन ३० सम्म आउँदा ४.५ प्रतिशतमा झरेको छ । जसको कारण मानिसहरूले सुनबाट धेरै नाफा पाउने भएको कारण पनि सुनमा लगानी गरेका छन् । यसको असर मूल्यमा देखिएको हो । –चन्द्रा बोगटी (प्रशिक्षार्थी)
प्रतिक्रिया दिनुहोस्