Skip to content
Prabhu

खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा अभियान’ सुरु गरेको छ । पन्ध्र वडा रहेको यो नगरपालिकाले हरेक मङ्गलबार नगरपालिका क्षेत्रमा सञ्चालित सबै सामुदायिक विद्यालयमा अभियान सुरु गरेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्रीमाध्यमिक विद्यालयले यही वैशाख १८ गते मङ्गलबारदेखि जीवनोपयोगी शिक्षा अभियान सुरु गरे तापनि दिक्तेलको सरस्वती माविबाट वैशाख २५ गतेदेखि औपचारिक रूपमा अभियान सुरु भएको छ ।

मङ्गलबार सरस्वती माविमा स्वास्थ्य शिक्षाका बारेमा स्वास्थ्यकर्मीले कक्षा लिएका दिक्तेल नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले राससलाई बताए । पञ्च माविमा भवन सरसफाइ र जनजागृति माविमा कृषि गतिविधिका साथ अभियान सुरु गरिएको जानकारी उनले दिए ।

नगरपालिकाले शैक्षिक अभियन्ता सूर्यबहादुर राईको संयोजकत्वमा गठन गरेको शैक्षिक सुधार कार्यदलको सुझावका आधारमा हरेक सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान सुरु गरिएको जनाइएको छ । सामुदायिक विद्यालयको गुणस्तर उकास्न सोही कार्यदलले दिएको सुझावका आधारमा नगर कार्यपालिकाले हरेक मङ्गलबार विद्यार्थीलाई पाठ्यपुस्तकका अतिरिक्त परियोजना कार्य (प्रजेक्ट वर्क) गराउनेगरी अभियान लागू गर्ने निर्णय गरेको थियो।

अभियानअन्तर्गत नगरपालिकाका सबै सामुदायिक विद्यालयले वार्षिक कार्ययोजना तयार पार्ने र सो कार्ययोजनामा ३० भन्दा बढी मङ्गलबार विद्यार्थीलाई व्यवस्थित तरिकाले परियोजना कार्य तयार गरेर कार्यान्वयन गराउने योजना रहेको संयोजक राईले बताए ।

अभियानका क्रममा नगरपालिकाले हरेक महिनाको मङ्गलबार विद्यालयको परियोजना कार्यको उपलब्धि प्रदर्शन गराउने र प्रोत्साहन गर्ने जनाएको छ । नगरपालिकाले वैशाख १९ गते नगरका ९३ विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाई सहभागी गराएर विद्यालयको वार्षिक कार्ययोजना निर्माण कार्यशाला आयोजना गरेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal