झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा ३० करोड ५१ लाख ९५ हजार राजस्व संकलन गरेको छ । संकलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको ६ दशमलव ८५ प्रतिशत हो ।
कार्यालयले चालु आवमा ४ अर्ब ४५ करोड ५० लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको सूचना अधिकारी एवं कर अधिकृत डोरराज सुनुवारले जानकारी दिए । ‘साउन महिनामा ३८ करोड तीन लाख ९१ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ८० दशमलव २३ प्रतिशत राजस्व सङ्कलन भयो’, उनले भने ।
यसमा आयकरबाट सात करोड ८३ लाख ६२ हजार, ब्याजबापत एक करोड ५१ लाख ६१ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करबापत १४ करोड ४५ हजार रुपैयाँ र अन्तःशुल्कबापत रु छ करोड ८३ लाख ७० हजार रुपैयाँ राजस्व संकलन भएको हो ।
गत आव २०८१/८२ को पहिलो महिनामा ३० करोड २३ लाख २६ हजार राजस्व संकलन भएको थियो । कार्यालयले राजस्व संकलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गर्नाका साथै लाभग्राही केन्द्रित व्यावहारिक कर शिक्षा प्रदान गरिरहेको कर अधिकृत सुनुवारले बताए ।






प्रतिक्रिया दिनुहोस्