हुम्ला । हुम्ला अहिले खडेरीको चपेटामा परेको छ । खडेरीले बरगाउँ, ठेहे, लिमाटङ, तोर्पालगायत गाउँका खेतबारीमा पाक्न लागेको उवा, गहुँ सुकेको छ ।
सुक्खाले बाली बिग्रेको गुनासो सिमकोट गाउँपालिका–१, २, ३ र ४ का किसानले गरेका छन् । पानी वैकल्पिक व्यवस्था नहुँदा उनीहरू कसरी अर्को बाली लगाउने र परिवारको भरणपोषण गर्ने भनेर चिन्तित भएका छन् । हिउँदमा हिउँ पर्दा सुविकाल हुने हिउँ नपर्दा अनिकाल हुने सिमकोट गाउँपालिका–३ का गाजीमा लामा बताउनुहुन्छ । यस वर्ष हिउँ नपर्दा भोकमरीको अवस्था आएको उनले बताए । चैतमा कोदो र वैशाख पहिलो साता चिनो छर्नुपर्नेमा पानी नपर्दा खेती गर्न नपाएको लामाले बताए ।
पानी नपर्दा खेतबारीमा लगाउने खुर्सानी, मकै, फर्सीलगायत अन्य तरकारी लगाउन नपाएको सिमकोट गाउँपालिका–२ ठेहेगाउँका किसान गौगोरा बोहराले बताउनुभयो । उनले भने, ‘आठ–दश वर्ष अगाडि यसरी खेतबारी सुक्खा हुँदैनथे तर यो हिउँदमा हिउँ र बर्खामा पानी नपर्दा समस्या भएको छ ।’
प्रतिक्रिया दिनुहोस्