Skip to content

एकीकृत घुम्ती शिविरमा २३ हजार पशुको उपचार

दमौली । तनहुँको म्याग्दे गाउँपालिकामा सञ्चालित एकीकृत घुम्ती शिविरमा २३ हजारभन्दा बढी पशुको उपचार भएको छ । गत फागुन २१ देखि चैत ८ गतेसम्म सबै वडामा सञ्चालित शिविरबाट २३ हजार तीन सय ३६ पशुको उपचार भएको हो ।

उक्त शिविरबाट सातवटा वडाका एक हजार नौ सय २६ जना पशुपालक किसान लाभान्वित भएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा विनय शाहले राससलाई जानकारी दिए। उनले भने, ‘गाउँपालिबाट प्रदान गरिने सबै सेवा वडा र टोलस्तरबाट प्रदान गर्ने सिलसिलामा पशु सेवा शिविर सञ्चालन गरेका थियौं,  शिविरमा गाईभैँसी, बाख्रा, कुखुरा, बङ्गुरलगायत पशुको उपचार गरेका छौँ । टोलमै सेवा पाउँदा किसानलाई पनि सजिलो भयो ।’

पशु चिकित्सक डा शाहका अनुसार उक्त पालिकाको वडा नं १ स्थित बाख्रेमा एक हजार तीन सय ५५, टाक्राङमा दुई हजार दुई सय ४९, वडा नं २ स्थित गुञ्जारामा आठ सय तीन, जामुनेमा दुई हजार दुई सय ३६, वडा नं ३ स्थित किल्चोक र बेल्टारमा एक हजार चार, जनगणपति माविमा एक हजार एक सय ६९, वडा नं ४ स्थित कोल्डाँडामा एक हजार आठ सय ४६, छिम्लेश्वारामा दुई हजार ५६, वडा नं ५ स्थित छाङपाटनमा दुई हजार चार सय ४९, साउनेपानीमा दुई हजार १२ पशुको उपचार गरिएको हो ।

यसैगरी वडा नं ६ स्थित सर्वलाङमा एक हजार नौ सय २३, वडा नं ७ स्थित माझिलाङमा दुई हजार तीन सय ६०, रानीश्वारामा एक हजार आठ सय ७४ पशुको उपचार गरिएको छ । अन्य समयमा किसानहरूले पशु नै सम्बन्धित पशु सेवा केन्द्रसम्म ल्याएर उपचार गर्नुपर्ने अवस्था रहे पनि घुम्ती शिविरका बेला पशु प्राविधिक नै टोलमै पुगेर सेवा दिएको डा शाहले बताए । उनले भने, ‘गाउँपालिकाले बेला–बेलामा यसरी नै टोल तहसम्म पुगेर घुम्ती शिविर सञ्चालन गर्दा पशुपालक किसानलाई राहत पुग्ने गरेको छ ।’

घुम्ती शिविरबाटै बीमाको प्रचार–प्रसार गरिएको थियो । आकस्मिक रोग तथा क्षति न्यूनीकरण गर्न पशुको बीमा गर्न किसानलाई प्रोत्साहन गरिने डा शाहको भनाइ छ । पशुवस्तुको बीमाका लागि किसानले बुझाउने रकम गाउँपालिकाको पशु सेवा शाखाबाट पुनः किसानलाई प्रदान गरिने कार्यक्रम चालु आर्थिक वर्षमा पनि जारी रहेको उनले बताए । उनले भने, ‘पशु बीमा गरेपछि पशुको क्षति भएमा किसानलाई क्षतिपूर्ति मिल्नेछ, बीमा निःशुल्क भएकाले यसको प्रचारप्रसारमा जोड दिएका छौं ।’

पशु सेवा शाखाले घाँसमा आधारित पशुपालनलाई पनि जोड दिएको छ । पशुपालनको ७० प्रतिशत लागत आहारामा खर्च हुने हुँदा मौसमअनुसारको जै, सुपर नेपियर, मकेचरी वर्षिमलगायत घाँसखेती गरी घाँसमा आधारित पशुपालनबाट उत्पादन लागत घटाउँदै आम्दानी बढाउन कृषकलाई अनुरोध गरिएको डा शाहले बताए । 

डा शाहका अनुसार घुम्ती शिविरमा आकस्मिक तथा महामारीजन्य रोग रोकथाम तथा न्यूनीकरणका लागि खोरेत, भ्यागुते, चरचरे, पीपीआर, स्वाइन फिबर र कुकुर बिरालोमा रेबिजविरुद्धको खोप लगाइएको थियो । उनले भने, ‘रेबिज नियन्त्रणका लागि चालु आर्थिक वर्ष २०८०÷८१ भरि नै कुकुर बिरालोमा रेबिजविरुद्धको खोप निःशुल्क पशु सेवा शाखाबाट प्रदान हुँदै आएको छ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi