Skip to content

शोरुममा आगलागीपछि नाडाका निवर्तमान अध्यक्ष ध्रुव थापाले भने, ‘जनताको सहानुभूति नै मेरो हौसला हो’

nabil bank

काठमाडौं । नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का निवर्तमान अध्यक्ष ध्रुव थापा विगत तीन दशकदेखि उद्यमशीलता, सामाजिक सेवा र मानवतावादी योगदानका लागि चिनिँदै आएका नाम हुन्। तर, पोखरास्थित शोरुम र घरमा भएको आगलागीले उनलाई जीवनकै सबैभन्दा ठूलो पीडासँग जुध्न बाध्य बनाएको छ।

‘म कुनै राजनीतिक मान्छे थिइनँ। न भ्रष्ट न त तस्कर,’ जीवन यात्राबारे स्मरण गर्दै थापाले भने, ‘१७ वर्षमै कलेज पढ्दै उद्यम सुरु गरेको थिएँ। आरोह–अवरोह, जोखिम सबै भोग्दै यहाँसम्म आइपुगेको हुँ। नेपालमै सम्भावना धेरै छ भनेर अरुलाई पनि उद्यम गर्न प्रेरित गर्दै आएको छु।’

आगलागीले घर मात्र नभई थापाको आत्मबललाई पनि चोट पुर्‍याएको छ। बुबाबाजेले आर्जेको जग्गामा बनेको, ३५ वर्षको मेहनत र पसिनासँग जोडिएको घर एकैछिनमा खरानीमा परिणत भएको थापाले बताए।

‘आजसम्म कुनै गलत कार्य गरेको अनुभूति छैन,’उनले भावुक हुँदै भने, ‘तर आफ्नै घर जलाईएको बेला मन पनि जल्दो रहेछ।’ सबैभन्दा ठूलो पीडा भने घरमै काम गर्दै आएकी सहयोगी बहिनीलाई जिउँदै आगोमा गुमाउनु परेको छ। ‘केही क्षणअघि परिवारलाई खाना बनाएर खुवाएकी ती बहिनी एकछिनमै बर्बरतापूर्वक मारिन्छिन् भन्ने कल्पना गरेको थिइनँ,’थापाको स्वर विह्वल थियो।

आगलागी कसले गर्‍यो भन्ने अझै स्पष्ट छैन। तर, थापाको भनाइमा, ‘घरमा मानिस रहेको जानकारी हुँदाहुँदै आगो लगाउने काम गर्ने जोसुकै हुन्, ती क्रुर अपराधीलाई भोलि कुनै राजनीतिक आवरण ओढेर उम्कन दिनु हुँदैन’

यो घटनालाई केहीले दाजु बिन्दु थापासँग जोडेर राजनीतिक रंग दिन खोजेकोप्रति ध्रुव थापा असन्तुष्ट देखिन्छन्। ‘दाजु व्यवसायमै सफल भएर राजनीतिमा लाग्नुभयो। उहाँलाई फेक आइडीमार्फत बदनाम गर्न खोजिएको छ, तर त्यो कपोलकल्पित प्रचार मात्र हो,’उनले भने। उनका अनुसार परिवारको इतिहास नै सामाजिक योगदान र स्वच्छ छविसँग जोडिएको छ। ‘दाजुले सांसद र मन्त्री हुँदा समेत सम्पूर्ण तलब–भत्ता सामाजिक कार्यमै डोनेसन गर्दै आउनुभएको छ,’उनले थपे।

अटो व्यवसायी थापा र उनकी पत्नी लामो समयदेखि सामाजिक सेवामा अग्रसर छन्। २०७२ सालको विनाशकारी भूकम्प होस् वा कोभिड–१९ को कठिन समय, उनीहरूले निःशुल्क एम्बुलेन्स उपलब्ध गराउँदै समाजलाई सहयोग पुर्याएका थिए। विपत्तिपूर्ण घडीमा साथ र सहानुभूति प्रकट गर्नेहरूलाई थापाले आभार प्रकट गर्दै भने, ‘तपाईंहरूको उत्प्रेरणाले हामीलाई अझ सशक्त भएर अघि बढ्ने हौसला मिलेको छ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime