Skip to content
Prabhu

खाद्य सामग्री र पशुजन्य औषधि एकै ठाउँबाट बिक्री गर्नेलाई कारबाही

चितवन । पूर्वी चितवनको एग्रोभेटमा खाद्यान्न र पशु औषधि एकै ठाउँमा बिक्री गरेको पाइएको छ । कालिका नगरपालिका र रत्ननगर नगरपालिकाका केही एग्रोभेटमा अनुगमनका क्रममा यस्तो पाइएको हो ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापक केन्द्र हरिहरभवन ललितपुर र कृषि विकास कार्यालयले संयुक्तरुपमा गरेको अनुगमनका क्रममा खेतबारीमा हाल्ने विषादी र सहकारीबाट उत्पादित खाद्यान्न सामग्री, विषादीसँगै पशुपन्छीका लागि आवश्यक औषधि एकै ठाउँमा राखेर बिक्री गर्ने गरेको पाइएको केन्द्रका प्रमुख सावित्री बरालले जानकारी दिए ।

उनका अनुसार अनुगमनका क्रममा जिल्लामा रहेका अधिकांश एग्रोभेटको नविकरण नभएको, अनुमति प्राप्त व्यक्ति पसलमा नबसी गैरप्राविधिक बस्ने गरेको पाइएको हो । उनले भने, ‘हामीले अनुगमनका क्रममा दुई एग्रोभेट र एउटा सहकारीमा शिल गरेका छौँ, केहीलाई कानुनी कारबाहीका लागि कागजपत्र नियन्त्रणमा लिएका छौँ ।’

सङ्घीयता कार्यान्वयनमा आएपछि अनुगमन हुन नसक्दा व्यवसायीमा बेथिती बढेको पाइएको उनले बताए । अनुगमनका क्रममा कतिपय एग्रोभेट सञ्चालकले सञ्चालन अनुमति नै नलिइकन सञ्चालन गरेको पाइएको उनले जानकारी दिए। सञ्चालन अनुमतिपत्र नलिई सञ्चालन गरेको सहमति उपभोक्ता सहकारी संस्था पदमपुलाई आजको अनुगमनका क्रममा शिल गरिएको उनले बताए ।

सञ्चालकले अनुगमनका क्रममा असहयोग गरेको भन्दै पसलमा सूचना टाँस गरी शिल गरिएको हो । अन्यलाई एग्रोभेटमा बिक्री समय सकिएका विषादी बिक्रीका लागि राखेको पाइएको छ ।

अनुगमनका क्रममा प्रधान एग्रो र हाम्रो बहुउद्देश्यीय सहकारी संस्थालाई शिल गरिएको थियो । सो अनुगमनका क्रममा कृषकलाई बिक्री गर्ने समय सकिएका र आवश्यक प्रक्रिया नपुर्याएका एग्रोभेटलाई कानुनी कारबाहीका लागि केन्द्रमा बोलाउने निर्णय भएको उनले जानकारी दिए । अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलसहित केन्द्रका कर्मचारीको सहभागिता रहेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal