Skip to content
Prabhu

सुरक्षण मुद्रण केन्द्रमा ४० करोड भ्रष्टाचार गरेको भन्दै विकलसहित ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका निवर्तमान कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध तेस्रो भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले पौडेलसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका मेकानिकल सीडीई नविनकुमार पोखरेल, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्कबहादुर थापा, शाखा अधिकृत हरिवल्लभ घिमिरे र सुरक्षण मुद्रण केन्द्रको उपकरण खरिद गर्ने ठेक्का पाएको म्याक्स इन्टरनेसनल र त्यसका सञ्चालक अकबर हुसेनविरुद्ध पनि मुद्दा चलाएको हो ।

उनीहरुलाई बिगो ४० करोड ८५ लाख ७४ हजार ७ सय ४० रुपैयाँ कायम गरी कैद र बिगोबमोजिम जरिबाना मागदाबी लिई मुद्दा दायर गरेको हो । गत वर्ष सुरक्षण मुद्रण केन्द्रको भवन र संरचना निर्माणमा अनियमितता भएको भनी मुद्दा दायर भएको थियो । त्यो मुद्दा अहिले विशेष अदालतमा विचाराधीन छ।

विशेष अदालतले आजै अख्तियारको हिरासतमा रहेका पौडेललाई थप १० दिन थुनामा राख्न अनुमति दिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal