Skip to content

अन्नपूर्ण आधारशिविरमा क्षमताभन्दा धेरै पर्यटक आएपछि व्यवस्थापनमा समस्या

nabil bank

म्याग्दी । मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा रहेका होटल तथा रेष्टुरेष्टको क्षमताभन्दा बढी सङ्ख्यामा पर्यटक आएपछि व्यवस्थापन गर्न समस्या भएको छ ।

८ हजार ९१ मिटरको अन्नपूर्ण हिमालको फेदीमा पुग्ने आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । पदमार्ग तथा आधार शिविरका टेन्ट र आश्रय स्थलको भवनमा एक दिनमा ५० जनासम्म बास बस्ने क्षमता रहेको छ । दैनिक १५० जना भन्दा बढी पर्यटक आउन थालेपछि आवास ब्यवस्थापनमा कठिनाई भएको अन्नपूर्ण –४ का वडा सदस्य श्याम पुर्जाले बताए ।

‘अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा पर्ने भएकाले पक्की संरचना बनाउने अनुमति नपाइने भएकाले गाउँपालिकासँग समन्वय गरेर गत बसन्त यामदेखि टेन्ट टाँगेर पर्यटकलाई खाने, बस्ने व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘क्षमता भन्दा तीन गुणा बढी पाहुनाहरु आउन थालेपछि समस्या भएको हो ।’

फुतफुते झरनामा चिया पसल, साधीखर्क, गुफाँफाँट, भुसकेट र अन्नपूर्ण आधार शिविरको पञ्चकुण्ड ताल परिसरमा स्थानीयबासीले गत बैशाख महिनादेखि स्थायी संरचना बनाएर पाहुनालाई खाना, खाजा खुवाउने र सुत्के व्यवस्था मिलाएका छन् । अपेक्षा गरेको भन्दा धेरै संख्यामा पर्यटक आएकाले व्यवस्थापनका लागि टेन्टको संख्या थप गर्न लागिएको पुर्जाले बताए ।

होटल तथा लजको सुविधा नभएकाले यसअघि खाना, खाजाका परिकार, भाँडाकुँडा, ग्यास, लत्ताकपडालगायत समान आफैँले व्यवस्था गर्नुपर्ने समस्या थियो । आधार शिविरको भ्रमण गरेर आउनुभएका बेनीका सन्दिप खत्रीले तीन जनाको क्षमता भएको टेन्टमा सात जना सुत्नुपरेको बताए ।

मानव बस्तीदेखि टाढा रहेको उक्त क्षेत्रमा सञ्चार, विद्युत अभाव र आवास व्यवस्थापनमा समस्या भएको उनले बताए । अर्का पदयात्री बिशाल खत्रीले भुसकेतदेखि आधार शिविर सम्मको तीन घण्टाको पदमार्गमा संकेत चिन्हहरुको आवश्यकता महशुस गरेको अनुभव सुनाए ।

मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । नारच्याङ देखि दुई घण्टा गाडीमा यात्रा गरेपछि पुगिने हुमखोला देखि दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ ।

छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाईमा परेको छ । शान्त र एकान्त वातावरण, वन्यजन्तु, पंक्षी, जंगल, अग्ला पहाडको खोच, फुतफुते झरना, अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङगको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो ।

७५ वर्षअघि फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण हिमाल आरोहणका लागि प्रयोग गरेको बाटो पछ्याउदै वि।स। २०६७ मा नारच्याङका तेज गुरुङको अगुवाईमा पहिचान भएको यो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले वि।स। २०७७ मा मौरिस हर्गोज नामारण गरि खुलाएको थियो ।

अन्नपूर्ण गाउँपालिकाले आश्रयस्थल, सार्वजनिक शौचालय, खानेपानी निर्माण, पदमार्ग मर्मत र समुन्द्री सतहदेखि चार हजार एक सय मिटर उचाइमा रहेको आधार शिविरमा खुल्ला संग्रहालय स्थापना गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को पाँच लाख रुपैयाँ सहयोगमा ‘रेड वाटरफल’ र सुनखोलामा काठको पुल निर्माण भएको र थप पुर्वाधार निर्माणका लागि पहल गरेको वडा अध्यक्ष लोकबहादुर फगामीले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime