Skip to content

२७० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसायः ८ अर्ब ८३ करोड लगानी, ५३ हजारलाई रोजगारी

nabil bank

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु भएसँगै फूल किनबेचसमेत बढेको छ । फूल र रङको पर्वको रुपमा रहेको तिहार सुरु भएसँगै फूलको किनबेच बढेको हो ।

पूजाआजादेखि विवाह, स्वागत, बिदाइदेखि मृत्युपछि समेत प्रयोग हुने फूलखेतीमा पछिल्लो समय नेपाल आत्मनिर्भर हुँदै गएको छ । नेपालमा २०११ सालदेखि सामान्य रुपमा फूलखेती हुँदै आए पनि २०५० सालको दशकपछि भने यसले व्यावसायिक रुप धारणा गरेको हो ।

पछिल्लो एक दशकयता नेपालमा फूलको व्यावसायिक खेती गर्नेको सङ्ख्या बढ्दो छ । पुष्प व्यवसायबाट मनग्य आम्दानी हुने भएपछि कृषिका अन्य क्षेत्रसँगै पुष्पखेती गर्नेको सङ्ख्या बढ्न थालेको हो । यस्तै, फूलको प्रयोग धेरै हुने भएकाले तिहारलक्षित फूलखेती गर्नेको सङ्ख्या बढ्दै गएको छ । छोटो समयमा पर्याप्त आम्दानी हुने भएकाले तिहारमा प्रयोग हुने सयपत्री र मखमलीको व्यावसायिक खेती हुने गरेको छ ।

विशेषगरी तिहारमा फूलको व्यापार धेरै हुने गरेको छ । तिहारमा काठमाडौँ उपत्यकाभित्र मात्र ४० लाखभन्दा बढी माला बिक्री हुने गरेको नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले बताए । फूलको प्रयोग बढिरहेको नेपालमा नर्सरीदेखि जमिन भाडामा लिएर पुष्प व्यवसाय गर्न थालिएको उनको भनाइ छ । बढ्दो सहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य सहर तथा देशका ५२ जिल्लामा पुष्पखेती भइरहेको अध्यक्ष श्रेष्ठ बताए।

‘नेपालको वातावारण पूmलखेतीका लागि अनुकूल छ’, उनले भने । देशभरका झण्डै २७० हेक्टर क्षेत्रफलमा पुष्पखेती गरिएको छ । पुष्प व्यवसायमा ८ अर्ब ८३ करोडभन्दा बढीको लगानी रहेको र ५३ हजार ५०० व्यक्तिलाई रोजगार प्रदान गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

पुष्प व्यवसायको माग र आपूर्तिमा वार्षिक वृद्धिदर १० प्रतिशतभन्दा धेरै रहेको छ । कोरोना महामारीको समयमा पुष्प व्यवसायमा असर गरेको भए पनि विस्तारै पुष्प व्यवसायले गति लिँदै गएको छ । आर्थिक वर्ष २०८०/८१ मा तीन अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो भने २०८१/८२ मा तीन अर्ब ३७ करोड रुपैयाँको कारोबार भएको अध्यक्ष श्रेष्ठले बताए।

भन्सार विभागको तथ्याङ्कअनुसार आव २०८०/८१ मा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक निर्यात एक करोड दुई लाख १२ हजार कारोबार रहेकामा आव २०८१/८२ मा दुई करोड १३ लाख ६० रुपैयाँ बराबरको निर्यात भएको थियो । नेपालमा उत्पादन हुने फूल जापान, हङकङ, अमेरिका, अस्ट्रेलिया, कतार, क्यानडा, युएईलगायत मुलुकमा निर्यात हुँदै आएको एसोसिएसनले जनाएको छ ।

काठमाडौं महानगरपालिकाले भने यस वर्ष स्वदेशमै उत्पादित फूललाई प्रवद्र्धन गर्ने उद्देश्यले विदेशबाट आयात गरिएको फूललाई प्रतिबन्ध गर्ने निर्णय गरेको छ । महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले केही दिनअघि पत्रकार सम्मेलन गरेर विदेशबाट आयात गरिएको फूललाई प्रतिबन्ध गर्ने नीति महानगरले लिएको बताएका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime