Skip to content

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न बागलुङ र लुम्बिनी सांस्कृतिक नगरबीच भगिनी सम्बन्ध

nabil bank

गलकोट । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न बागलुङ नगरपालिका र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । बुधबार दुई स्थानीय तहका प्रमुखहरूले भगिनी सम्बन्ध स्थापना गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । 

विश्व सम्पदामा सूचीकृत विश्व शान्तिक्षेत्र, धार्मिक एवं पर्यटकीय नगरी लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी प्रदेश र धार्मिक एवं पर्यटकीय नगर बागलुङ नगरपालिकाबीच पर्यटन प्रवर्द्धन, असल अभ्यास र अनुभव आदानप्रदानका लागि भगिनी सम्बन्ध कायम गरिएको समझदारीपत्रमा उल्लेख छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमान र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बागलुङ नगरपालिकामा आयोजित एक कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । भगिनी सम्बन्ध स्थापना गर्न नगरप्रमुख मुसलमान, उपप्रमुख कल्पना हरिजनसहितका जनप्रतिनिधि र कर्मचारी बागलुङ नगरपालिका आएका थिए।

भगिनी सम्बन्ध स्थापनाबाट दुई नगरपालिकाबीच कला तथा संस्कृतिको आदानप्रदान गर्न सहयोग पुग्ने बताउँदै बागलुङ नगरपालिकाका प्रमुख श्रेष्ठले असल अभ्यासको आदान प्रदान र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान हुने उल्लेख गरे । 

नगरप्रमुख मुसलमानले भगवान् गौतमबुद्धको जन्मभूमि नगरपालिका र धार्मिक हिसाबले पवित्र तपोभूमिका रुपमा रहेको बागलुङ नगरपालिकाको कलासंस्कृति, भाषा, वेशभूषासँगै अनुभव आदानप्रदान गर्न समझदारीबाट योगदान पुग्ने विश्वास व्यक्त गरे । 

त्यस अवसरमा बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल र लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ज्ञवालीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। दुवै स्थानीय तहका नगरप्रमुखको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलको स्वागत तथा प्रशासन शाखाप्रमुख भीमसेन पन्तको सञ्चालनमा भएको थियो । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime