Skip to content
Prabhu

नयाँ बानेश्वरमा फल्चा सञ्चालनमा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरमा निर्माण गरेको बस बिसौनी ‘फल्चा’ आजदेखि सञ्चालनमा आएको छ । यहाँ एकै किसिमका दुई फल्चा निर्माण भएका छन् ।

नयाँ बानेश्वरबाट बबरमहलतर्फ आउने सडक खण्डमा बस बिसौनी सञ्चालनमा आएको हो । यस्तै बबरमहलबाट नयाँ बानेश्वरतर्फको सडक खण्डमा रहेको बस बिसौनी आउँदो महिनाभित्र सञ्चालनमा आउने काठमाडौँ महानगरपालिका–१० का वडाध्यक्ष रामकुमार केसीले जानकारी दिए । “हामीले परम्परागत शैली प्रयोग गरेर नमुना बस बिसौनी बनाएका छौँ, यस्ता संरचना राजनीतिक आन्दोलनको मारमा पर्न हुदैँन ।” उनले भने ।

फल्चा निर्माणमा स्थानीयवासी सहभागी भएकाले यसको संरक्षण गर्न उनीहरुले निगरानी गर्ने निर्माण समितिका संयोजक एवं वडा सदस्य सतिश तण्डुकारले बताए ।  “यसमा नगर प्रहरीले पनि सहयोग गर्नेछ”, उनले भने ।

महानगर प्रहरी बल पूर्व क्षेत्रका प्रमुख नगर प्रहरी उपरीक्षक दिनेशराज अर्यालले भने, “सार्वजनिक सम्पत्तिको संरक्षण हाम्रो जिम्मेवारी हो । हामी यस्ता सम्पत्तिको दुरुपयोग हुन दिँदैनौँ ।”

झण्डै रुपैयाँको ६२ लाखको लागतमा फल्चा निर्माण गरिएका हुन् । यसमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको छ । बस्नका लागि काठकै मेच राखिएका छन् । बिसौनीभित्र बत्ती जडान गरिएका छन् । आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौँ महानगरभित्र प्रतिक्षालयका रुपमा ‘फल्चा’ निर्माण गर्ने प्रतिवद्धता जनाएका थिए ।

महानगरले परम्परागत फल्चा निर्माण गर्न चालु आर्थिक वर्षमा आन्तरिक स्रोतबाट खर्च गर्ने गरी सम्पदा तथा पर्यटन विभागअन्तर्गत सम्पदा पूर्वाधार शीर्षकमा रु पाँच करोड विनियोजन गरेको थियो । काठमाडौँ उपत्यकाको पाटन, कीर्तिपुर र भक्तपुरमा बढी मात्रामा फल्ल्चाको प्रयोग भएको पाइन्छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal