Skip to content
Prabhu

बागमती तीर्थयात्रा ५ वर्षदेखि रोकियो

काठमाडौं । करिब पाँच हजार वर्षअघि नेमुनिले सुरु गराएको विश्वास गरिने बागमती तीर्थयात्रा पाँच वर्षदेखि हुन सकेको छैन । काठमाडौं उपत्यकाको सभ्यताको स्रोतका रुपमा रहेको वाग्मती नदीको महत्व जनमानसमा उजागर गर्दै यसको पवित्रताबारे चेतना जगाउन प्राचीनकालदेखि सुरु भएको वाग्मती तीर्थयात्रा विविध कारणले गर्दा रोकिने गरेको छ ।

प्रत्येक वर्ष वैशाख कृष्ण त्रयोदशीदेखि हुने बागमती तीर्थयात्रा यस वर्ष पनि नहुने भएको हो । वैशाख कृष्ण त्रयोदशीदेखि करिब १५ दिनसम्म यो जात्रा गरिन्छ । विसं २०७७ र २०७८ मा कोरोना सङ्क्रमण तीव्र भएकाले यात्रा स्थगित गरिएको थियो । २०७९ र २०८० सालमा पनि तीर्थ गुरु बिरामी भएको भन्दै वाग्मती तीर्थ यात्रा स्थागित गरिएको थियो । यसवर्ष के कारणले तीर्थ यात्रा रोकिएको पशुपति क्षेत्र विकास कोषले स्पष्ट जानकारी गराएको छैन ।

कोषका प्रवक्ता रेवतीरमण अधिकारीले यस विषयमा आफूलाई जानकारी नभएको बताउँदै संस्कृति महाशाखा प्रमुखलाई थाहा हुने बताए । कोषको संस्कृति महाशाखा प्रमुख ईश्वरमान भण्डारीले भने आफू महाशाखा वैकल्पिक रुपमा हेर्ने गरी आएको २० दिनमात्र भएकाले यस विषयमा केही भन्न नसक्ने सुनाए ।

प्रत्येक वर्ष वैशाख शुक्ल र कृष्ण पक्षका १५ दिन गरिने यो यात्रा तीर्थ गुरुका रुपमा रहनुभएका आगमघरका भट्टको स्वास्थ्य अवस्था बिग्रिएकाले विसं २०७९ र २०८० मा तीर्थ यात्रा गरिएको थिएन । कोषले २०७९ र २०८० सालमा तीर्थयात्राको नेतृत्व गर्नुहुने पशुपतिनाथ आगमघरका भट्ट मदन भट्ट नै बिरामी पर्नुभएकाले तीर्थ यात्रा गर्न नसकिएको जानकारी गराएको थियो ।

दुवै वर्षको यात्राका क्रममा मसान सिद्धिको दीक्षा अरुलाई नदिइएकाले यात्रा स्थागित गर्नुपरेको कोषले बताउने गरेको थियो । यसवर्ष भने कोषले किन जात्रा रोकिएको हो भन्ने कुनै जानकारी गराएको छैन । ‘ने’ मुनिले सुरु गरेको विश्वास गरिने बागमती तीर्थ यात्रा वाग्मती प्रदूषित हुन थालेपछि विसं २०३५ देखि २०७४ सम्म बन्द भएको थियो ।

कोषका तत्कालीन सदस्य सचिव डा प्रदीप ढकालको विशेष पहलमा विसं २०७५ देखि तीर्थ यात्रा पुनः सुरु भएको हो । करिब ४० वर्षपछि २०७५ सालमा सुरु भएर दुई वर्ष चलेको वाग्मती तीर्थयात्रा नभएको पाँच वर्ष भइसकेको छ । पूर्वसदस्य सचिव ढकालको सक्रियतामा विसं २०७५ र २०७६ मा वाग्मती तीर्थ यात्रा गरिएको थियो ।

तीर्थ यात्राका क्रममा कटुवालदहबाट वाग्द्वारसम्मका १६७ तीर्थस्थलमा स्नान, पूजा, आरती, दर्शन, तान्त्रिक साधना, वाग्मती माहात्म्य वाचनलगायत कर्म गरिन्छ । यस्तो यात्राले वाग्मतीको शुद्धीकरणका लागि पनि सहयोग गर्ने विश्वास गरिन्छ । ४० वर्षपछि यात्रा सुरु गर्दा नदीलाई सफा बनाउन जागरण फैल्याउने उद्देश्यसमेत राखिएको थियो ।

कोषका कर्मचारी डा बरुण खतिवडाले विसं २०७५ र २०७६ मा वाग्मती तीर्थयात्राको कर्ताको भूमिका निर्वाह गरेका थिए। काठमाडौँ उपत्यकाभित्रका वाग्मती किनारका सबै तीर्थमा पैदल हिँडेर गरिने यो तीर्थ यात्राको मौलिकता हराउनु नहुने भन्दै संस्कृतिप्रेमीले माग गर्दै आएका छन् । संस्कृतिप्रेमीको यो मागमा कोषले भने खासै वास्ता नगरेको भन्दै आलोचना हुने गरेको छ ।

कलियुगको सुरुवाती चरणमा योगिनीको आदेशमा ने मुनिले पशुपति मन्दिरको संरक्षण गर्नुभएको थियो । त्यसैकालदेखि वाग्मती तीर्थयात्रा सुरु भएको विश्वास गरिन्छ । ने मुनिको नामबाट नेपालको नामकरण भएको स्कन्दपुराणमा उल्लेख गरिएको स्वामी जगदीश प्रपन्नाचार्य बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal