Skip to content
Prabhu

कचनकवल पालिकाद्वारा अतिविपन्न परिवारको स्वास्थ्य बिमा

झापा । झापाको कचनकवल गाउँपालिकाले यहाँका पाँच सय परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ ।

गाउँपालिकावासीमा स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले पाँच सय परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको हो । गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले पालिकाको नीति तथा कार्यक्रममै बजेट विनियोजन गरेर चालु आर्थिक वर्षमा पाँच सय परिवारको निःशुल्क बीमा गरिएको जानकारी दिए ।

‘अघिल्लो वर्ष एक हजार परिवारको बीमा गरेका थियौँ’, उनले भने, ‘यहाँ आर्थिक रूपले विपन्न परिवारको बसोबास धेरै छ, उनीहरूमा स्वास्थ्य सेवाको पहुँच बढाउन गाउँपालिकाले स्वास्थ्य बीमालाई प्राथमिकतामा राखेको छ ।’

गत वर्ष गरिएका एक हजार परिवारले नवीकरण गर्दा बिमा शुल्कको २५ प्रतिशत रकम बुझाउनुपर्ने उहाँले बताउनुभयो । कचनकवलले अतिविपन्नसँगै पालिकाभित्रका गर्भवती महिलाको समेत निःशुल्क स्वास्थ्य बीमा गर्ने गरेको छ ।

कचनकवल गाउँपालिकामा वार्षिक सामाजिक सुरक्षा भत्तामार्फत ५ करोड ९५ लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको अध्यक्ष राजवंशीले बताए । गाउँपालिकामा चार हजार तीन सय चारजनाले सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन् । चालु आवको चौथो त्रैमासिकसम्ममा सामाजिक सुरक्षा भत्ता पाउनेको सङ्ख्या चार हजार तीन सय चार पुगेको गाउँपालिकाले जनाएको छ ।

सरकारले प्रदान गर्ने आठवटा ‘क्लस्टर’का एक हजार सात सय ४१ पुरुष र दुई हजार पाँच सय ७३ महिलाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal